मकैबारिमा लुकेर बाँचे – ज्ञानेन्द्र शाही

47

काठमाडौं – नेपालका लागी नेपाली अभियानका युवा अभियन्ता ज्ञानेन्द्र शाहीले आफूमाथि सुर्खेतमा शनिबार सुनियोजित आक्रमण भएको दावी गरेका छन् । प्रहरीले दुई समूहबीच झडप भएको बताए पनि शाहीले त्यसलाई अस्वीकार गरेका हुन् ।

उनले आफूलाई नै लक्ष्यित गरी आक्रमण गरिएको बताउँदै भने ‘उनीहरु सबैले मदिरा सेवन गरेका थिए, हामीले कुनै प्रतिकार गर्नसक्ने अवस्था थिएन । ढुंगा र बाँसको भाटाले हामीमाथि प्रहार गरे ।’ आक्रमणकारी कसैलाई पनि नचिनेको उनको भनाइ छ ।

सुर्खेतमा निशुल्क स्वास्थ्य सामग्री वितरणका लागि जानेक्रममा शुक्रबार वीरेन्द्रनगर नगरपालिका १३ गडगडे भन्ने ठाउँमा राति एक अभियन्ताको घरमा खाना खाएर फर्किने क्रममा बाटोमा आक्रमण भएको शाहीको भनाइ छ ।

‘हामी दुईवटा गाडी र एउटा मोटरसाइकलमा थियौं । म चाहिँ गाडीमा थिएँ । राति १० बजेतिर बाटोमा आउँदै गर्दा बाटोमा अवरोध खडा गरिएको रहेछ । हामी रोकिनासाथ १०/१२ जनाको समूह हामीमाथि जाइलाग्यो । सुरुमा मोटरसाइकलमा रहका साथीहरुलाई थुतेर फालियो । अनि हामी सबैलाई गाडीबाट निकालेर ढुंगा, भाटाले प्रहार हुन थाले ।’ उनले भने ।

‘मेरा ६ जना अभियन्ता साथीहरु घाइते भएका छन् । म आफैंलाई चाहिँ धेरै चोट लागेन । मकैबारीमा लुकेर बाचेँ ।’ उनले भने ‘घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरीको टोली आएको थियो । जबकि जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा आउन मोटरसाइकलमा १० मिनेटजति मात्रै लाग्छ ।’

‘घटनालाई दोहोरो झडप भनेर प्रहरीले गलत प्रचार गरिरहेको छ । हामीले प्रतिकार गर्न सक्ने अवस्था नै थिएन । उनीहरुले घेरेपछि मैले त हात जोडेर हामीलाई छोडिदेओ भनेर रोइकराइ गरिरहेको थिएँ ।’ उनको भनाइ थियो ।

त्यही दिन मात्रै निशुल्क वितरणका लागि भनेर ल्याएका सामग्री एयरपोर्टमा रोकिएपछि एक मन्त्रीसँग उनको विवाद भएको थियो ।

 

समाचार वर्गहरू