मञ्च बनाएर होली पर्वको कार्यक्रम गर्न जिल्ला प्रशासनद्वारा रोक

64

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ। निर्वाचनको सुरक्षाका कारण यसवर्ष सांस्कृतिक कार्यक्रम गर्न निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

‘खुला सडक, सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरु र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्नरनगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,’जारी विज्ञप्तिमा उल्लेख छ।

होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रुपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले यो कडाइ गरेको हो। प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने स्मरण गराएको छ ।

होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका कपडाहरु प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ। होली पर्वलाई मर्यादित बनाउने उद्देश्यले कसैको इच्छा विपरीत रंग अबिर दल्न वा लोला हान्न पनि रोक लगाइएको छ।

समाचार वर्गहरू