सिमरा– मदिरा उत्पादन गर्न घर भित्रै बनाईएको २ वटा टंकीमा डुबेर बारामा ५ जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ४ बतरा स्थित एक मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर एक नबालिका सहित ५ जनाको मृत्यु भएको हो ।
मदिरा भट्टी संचालक जोगा मुखिया बीन, उनकी छोरी सुमन कुमारी बीन, उनका भाई महेन्द्र मुखिया बीन, महेन्द्रकी पत्नी लालमुनी देवी बीन र नाम नखुलेका भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालका अनुसार खाल्डोमा डुबेका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सबै राति करीब ८ बजे खाल्डोमा डुबेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उनीहरुको मृत्यु कसरी भएको हो खुल्न नसकेको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए ।
मदिरा उत्पादन गर्न घर भित्रै बनाईएको २ वटा ट्यांकी मध्ये पानी रहेको ट्यांकीमा उनीहरु डुबेको प्रहरीले जनाएको छ ।
जोगा परिवारले लामो समय देखी घरमै मदिरा भट्टी संचालन गरी घरेलु मदिरा उत्पादन गर्दै आएको खुलेको उनले बताए ।
उनका अनुसार १५ दिन अगाडी प्रहरीले उक्त मदिरा भट्टी भत्काई मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको थियो । त्यस पछि पुनः उनीहरुले मदिरा बनाउन भट्टी र कच्चा पदार्थ तयार गर्ने तिर लागेको देखिन्छ ।
मृतक सबैको शव खाल्डोबाट निकालिएको र परिक्षणको लागि अस्पताल पठाइएको भईरहेको प्रहरीले जनाएको छ ।