काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।
बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।
बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।
योसंगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ । अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी गरेको छ ।
यससँगै नयाँ सरकार गठन गर्ने बाटो पनि खुलेको छ। केन्द्रीय गठबन्धनले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको छ। यसअघि नै जनमत पार्टीले नेकपा माओवादी र नेकपा एमालेसँग सरकार बनाउने विषयमा सहमति गरेको थियो।
यद्यपि, उसले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरेको थियो। एकीकृत समाजवादीले आज विपक्षमा मतदान गरे पनि सरकारमा जाने नजाने विषयमा निर्णय गर्न सकेको छैन।