काठमाडौं – एमालेले चार दिनअघि पार्टी प्रवेश गर्नेको संख्या एक लाख नाघेको दाबी गर्यो । आगामी निर्वाचनलाई लक्षित गरी एमालेले अभियानकै रूपमा मधेसमा नेता–कार्यकर्ता प्रवेश गराइरहेको छ । जनकपुरमा गत भदौ २७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले सचिव रघुवीर महासेठले मधेसमा १० सिट (प्रतिनिधिसभा) जित्ने दाबी गरे ।
लगत्तै, बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘रघुवीरजी, मधेसका बाँकी २२ सिट कसलाई छाड्ने ? उहाँले कम्तीमा १० सिट भन्नुभएको छ । मधेसमा यतिधेरै मानिस एमालेमा आइरहनुभएको छ । पप्लु खेलेर बस्न आएको होइन, यहाँ (एमालेमा) ।’
चुनावी समयमा तरल बन्ने मधेसको राजनीति मंसिर ४ को आमनिर्वाचनअघि पनि तरंगित बनिरहेको छ । गठबन्धन दल सिट बाँडफाँट र उम्मेदवार छनोटमै अल्झिएका बेला एमाले भने मधेसकेन्द्रित चुनावी अभियानमा होमिएको छ । एमाले अध्यक्ष ओली भदौ अन्तिमदेखि असोजमध्यसम्म तीनपटक मधेस आइसकेका छन्, असोज १५ मा सप्तरी आउँदै छन् ।
०७४ को चुनावअघि सप्तरीकै मलेठमा एमालेले ओलीकै उपस्थितिमा आयोजना गरेको चुनावी सभा मधेसवादी दलले बिथोल्न खोज्दा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको थियो । त्यो घटनापछि मधेसमा एमाले र ओलीलाई ‘निषेध’ घोषणा गरेका मधेसवादी दलकै हेभिवेट नेताहरू अहिले धमाधम एमाले प्रवेश गरिरहेका छन् । मलेठको घटनापछि ०७४ को निर्वाचनमा मधेसमा उत्साहजनक मत नपाएको एमालेले मंसिर ४ को चुनावअघि सप्तरीकै कञ्चनरूप नगरपालिकाबाट ‘निर्वाचन परिचालन कमिटी’ घोषणा गर्दै छ । त्यही कार्यक्रममा सहभागी हुन ओली १५ दिनभित्र चौथोपटक मधेस झर्दै छन् ।
मधेसमा ओलीको टार्गेटमा मधेसवादी दल नै छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका हेभिवेट नेताहरूलाई एमालेले तानिरहेको छ । असोज ८ मा धनुषाको तिनकौरियामा आयोजित सभामा लोसपाका सचेतक एवं धनुषा क्षेत्र १ बाट जितेका उमाशंकर अरगरियालाई ओलीले एमाले प्रवेश गराए । अरगरिया तिनै नेता हुन्, जो मलेठको घटनापछि एमालेलाई मधेसमा निषेधको चर्को नारा लगाएर तत्कालीन उपेन्द्र यादवको दल संघीय समाजवादीबाट चुनाव जितेका थिए ।
मधेसका ८ जिल्लामा ३२ वटा प्रतिनिधिसभा र ६४ वटा प्रदेशसभा सिट छ । ०७४ को निर्वाचनमा एमालेले मधेसमा प्रतिनिधिसभाको दुई सिट मात्र जितेको थियो । धनुषा–४ बाट महासेठ र सिरहा–३ बाट लीलानाथ श्रेष्ठबाहेक सबैले पराजय व्यहोर्नुपरेको थियो । तर, ओलीको पछिल्लो दौडधुपले मधेस तरंगित भएको छ । हरेकजसो कार्यक्रममा उनले दोहोर्याइरहेका छन्, ‘मधेसलाई एमालेले नै न्याय गर्छ । यही सच्चा पार्टी हो ।’
कुर्ता–सुरुवाल र गम्छा लगाएर उनी मधेसका सभामा देखिन्छन् । ‘मधेसको भाषा मैथिली मज्जाले बुझ्छु तर फर्काउन आउँदैन, मैथिलीमै बोलुँ–बोलुँ लाग्छ,’ जनकपुरको सभामा ओलीले यसो भनेर मैथिलीभाषीसँग पनि अपनत्व दर्शाए ।
मधेस प्रदेशमा तत्कालीन नेकपा प्रमुख प्रतिपक्षी दल थियो । दल छिनभिन्न भएपछि माओवादी र एकीकृत समाजवादी मधेस प्रदेश सरकारको हिस्सेदार बने तर एमाले विपक्षमै छ । राजनीतिक विश्लेषकका अनुसार मधेसमा पछिल्लो पाँच वर्ष विपक्षीको भूमिकामा एमालेले उठाएका जनसरोकारका मुद्दाले पनि त्यो दलप्रति आकर्षण बढेको छ । मधेसको एउटै मुड हुन्छ– सत्तामा बस्नेसित सधैं असन्तुष्टि पोखिरहने । विश्लेषक चन्द्रकिशोर भने दुई कारणले मधेसमा एमालेले आफ्नो पकड बढाउन खोजेको बताउँछन् । पहिलो– मधेस प्रदेशमा वर्चस्व नबढेसम्म राष्ट्रिय राजनीतिमा कमजोर हुने आंकलन र दोस्रो– मधेसमा समानुपातिक मत बढाउने इच्छा ।
‘अरू दलमा टिकट सुरक्षित नदेखेपछि एमालेमा पस्नेको लर्को छ । मधेसमा व्यक्तिगत मतले महत्त्व राख्छ । नेताहरू आफ्नो व्यक्तिगत र एमालेको मत जोडेर जित्ने आकलनसहित एमाले प्रवेश गरेको होला,’ विश्लेषक चन्द्रकिशोरले भने, ‘एमालेमा रास्ता खुलेको छ । उसले चेहरा होइन, संख्या हेरेर पार्टी प्रवेश गराउँदै छ ।’ उनका अनुसार मधेसवादी दलले परफर्मेन्स, डिलेभरी र सुरक्षा दिन नसक्दा नेता–कार्यकर्ता निराश छन् । यसले मधेसमा एमाले प्रवेशको होड देखिन्छ । ‘पार्टी प्रवेशले मधेसमा एमालेको मत बढ्छ तर सिट कति जित्छ, त्यो ग्यारेन्टी छैन,’ चन्द्रकिशोरले भने ।
एमालेसित मधेसवादी दलका नेताको आकर्षण बढनुका पछाडि अर्को कारण पनि छ । मधेसवादी दलका सांसदले एमालेमा आउने चाहना राखेपछि ओली प्रधानमन्त्री हुँदा दल विभाजनसम्बन्धी अध्यादेश नै ल्याए । अध्यादेश जारी गरेलगत्तै जसपाका तीन सांसदलाई लिन एमालेका नेता महेश बस्नेत र प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाल जनकपुर पुगेका थिए । खनाल अहिले एमालेमा प्रवेश गरेका छन् । तत्कालीन जसपा सांसद उमाशंकर अरगरिया, सांसद सुरेन्द्र यादव र प्रदेश सांसद कौशलकिशोर यादव एमाले प्रवेश गर्न लकडाउनको समयमा बस्नेत र खनालसँगै काठमाडौं हिँडेका थिए । जसपाले सांसद अपहरण गरेको आक्षेप लगाएपछि त्यतिबेला एमालेको योजना तुहिएको थियो ।
राजनीति विश्लेषक तुलानारायण साहका अनुसार मधेस आन्दोलन अधिकारको लडाइँ भएकाले अधिकार प्राप्त गर्ने मधेसी समुदायको चाहना थियो । ‘त्यसको नेतृत्व मधेसी दलले गर्यो । तर, आन्दोलनमा सबै दल समर्थित सहभागी थिए,’ विश्लेषक साहले भने, ‘त्यतिबेला मधेसमा पहाडी पार्टी भर्सेज मधेसी पार्टीको धुव्रीकरणमा समाज पनि बाँडियो । अहिले त्यो क्रम सेलाएको छ । त्यसैले नेताहरू आफ्नो सिट सुरक्षित गर्न आफूअनुकूल दल रोजिरहेका छन् ।’
गठबन्धनले टिकट नपाउने सकस र समानुपातिकमा नदोहोरिने भयले मधेसमा दल अदलबदल गर्ने क्रम बढेको छ । लोसपा नेता उमाशंकर अरगरिया, धनुषा कांग्रेसका पूर्वउपसभापति सन्तोष यादव, जसपाकी प्रदेशसभा सांसद अञ्जुकुमारी यादव, जसपाकै केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्वराज्यमन्त्री अरबिन्द साहलगायतलाई ओलीले पार्टी प्रवेश गराइसकेका छन् । यादव २०४६ देखि नै कांग्रेसमा सक्रिय थिए । उनलाई धनुषा क्षेत्र ४ को (क) वा (ख) बाट प्रत्यक्ष चुनाव लड्ने गरी एमालेले भित्र्याएको हो । गठबन्धन हुँदा उनी कांग्रेसबाट टिकट नपाउने सूचीमा थिए ।
जसपा परित्याग गरी प्रतिनिधिसभा सदस्य रुही नाज पनि एमाले प्रवेश गरेकी छन् । सर्लाही नेतृ नाज २०७४ मा जसपाबाट मनोनीत भएकी थिइन् । माओवादीका शंकर महतो पनि एमाले प्रवेश गरे । उनलाई महोत्तरी क्षेत्र १ मा एमालेले टिकट दिने आश्वासन दिएको छ । ओली निवास बालकोटमै पुगेर मधेस राजनीतिका दुई बद्नाम हस्ती बबन सिंह र खोभारी राय पनि एमाले प्रवेश गरेका छन् ।
बुधबार लोसपाकी समानुपातिक सांसद चन्दा चौधरी पनि कांग्रेस प्रवेश गरेकी छन् । उनलाई कांग्रेसले सर्लाहीको क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउने आश्वासन दिएको छ । कांग्रेसको यो क्षेत्रबाट अमरेशनारायण सिंह यसअघि निर्वाचित भएका थिए । सांसद सिफारिस गर्ने क्रममा सिंहलाई क्षेत्र, जिल्ला र प्रदेश तीनवटै कमिटीमा नाम समेटिएको छैन । नेता सिंह र सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहबीच टकराव छ । त्यही कारणले अमरेशलाई सांसद सिफारिस नै गरिएको छैनण् । यसअघि, कांग्रेस अधिवेशनमा पनि प्रतिनिधि छनोटमा अमरेश जिल्लामै हारेका थिए । सभापति सुरेन्द्रका भाइ वीरेन्द्र सिंह मधेस प्रदेशका उपाध्यक्ष र प्रदेश मन्त्री हुन् । दाजु–भाइ मिलेर अमरेशलाई पार्टीबाट किनारा लगाउन खोजेका छन् । कान्तिपुर दैनिक बाट ।