काठमाडौं – काठमाडौंको तारकेश्वरमा ट्राफिक प्रहरी जवान मृत भेटिएका छन्।
शुक्रबार साँझ तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन्।
काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेका अनुसार घिमिरे निर्माणाधीन दुई तले घरको भुइँतलामा मृत भेटिएका हुन्।
मृत भेटिएका घिमिरे ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत थिए। उनको शरीरमा चोटपटक र शंकास्पद रहेको पनि एसएसपी रजौरेले जानकारी दिए।
खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको बिहीबार राति हत्या भएको आशङ्का गरिएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।
स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेला परेको थियो ।
घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको एसएसपी रजौरेले जानकारी दिए । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।