मनसुन थप सक्रिय, मुलुकका अधिकांश स्थानमा भारी वर्षा

29

काठमाडौं – हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । तर आजदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ । यसले अझै केही दिन मनसुसन लम्बिने पक्का भएको छ । मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् ।

भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ ।

बुधबार दिउँसो देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मौसमविद् मिनकुमार अर्यालले अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारती वर्षा हुने जानकारी गराए । मध्य र पूर्वमा अहिले पूर्ण बदली छ । राति अझै वर्षा हुने क्रम बढ्ने छ ।

सबै प्रदेशमा भारी वर्षा साथै प्रदेश १, २, बाग्मती, गण्डकी र प्रदेश ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन सकेको छैन । त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको महाशाखाले जनाएको छ ।

बिहीबार पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, २ र बाग्मती प्रदेशमा पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा सामान्य  बदली रहनेछ । प्रदेश १, २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

समाचार वर्गहरू