काठमाडौं – बागमती प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री युवराज दुलालका अंगरक्षकले ‘आत्महत्या’ गरेको विषय शंकास्पद बनेको छ ।
मृतक मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौना घर भएका यमबहादुर सुवेदीको परिवारले आत्महत्यामाथि शंका व्यक्त गर्दै प्रहरीमा जाहेरी दिएको छ ।
मृतक प्रहरी सहायक निरीक्षक (असई) सुवेदी हेटौँडा–११ नवलपरस्थित जंगलमा रुखमा कालो पेटीको पासो लगाई झुण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेका थिए ।
मृतक सुवेदीले आफूले लगाएको पेटीलाई पासो बनाई रुखमा झुण्डिएको प्रहरी अनुसन्धानले देखाएको छ । तर, पेटीमा झुण्डिएको उनको शरीरको आधा भाग जमिनमा लत्रिएको छ । पासो लगाउँदा पेटी पनि सग्लै अवस्थामा हुनु र शरीर जमिनमा लत्रिनुले घटनालाई शंकास्पद बनाएको परिवारको भनाइ छ । उनका दुई छोरी र श्रीमती छन् ।
मकवानपुर प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डीएसपी भण्डारीले परिवारको जाहेरी आएपछि शव पोष्टमार्टम गरेर दाहसंस्कारको तयारी भइरहेको जानकारी दिए ।
सुवेदी सोमबार साँझ साढे ६ बजे घटनास्थल तल रहेको शहीद स्मारक गेटबाट अगाडि बढेको सीसीटीभी फुटेजबाट देखिएको उनको परिवारले बताएको छ । तर, सुवेदी स्मारकबाट निस्किएर पश्चिमतर्फ आउनुपर्नेमा उत्तरतर्फ अर्थात् जंगल क्षेत्र हिँडेको बिषय भन्ने विषय शंकास्पद रहेको परिवारले जनाएका छन् ।