काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस गर्दा समावेशी र समावेशी सिद्धान्त अपनाउन नसकिएकोमा माफी मागेकी छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री राणाले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायको प्रतिनिधित्व गर्न नसकेकोमा ‘आईएम सरी’ भनेकी छन्।
राजदूत सिफारिस समावेशी किन नभएको भन्दै सांसदहरूले गरेको प्रश्नको जवाफमा उनले रिक्त रहेका देशहरूमा राजदूत पठाउँदा समावेशी र समानुपातिक सिद्धान्त अपनाइने बताइन्। परराष्ट्रमन्त्री राणाले दुई मुलुकमा राजदूत नियुक्तिका लागि ठाउँ खाली रहेको बताउँदै त्यहाँ दलित र मुस्लिम समुदायबाट सिफारिस गरिने बताइन्।
‘राजदूत नियुक्ति समावेशी भएन, रिक्त मुलुकका लागि राजदूत सिफारिस गर्दा दलित, मधेशी र मुस्लिम ल्याउने छौँ। यसपटक समावेशी भएन, आईएम सरी,’ राणाको भनाई उद्धृत गर्दै समितिका सभापति राजकिशोर यादवले भने।
सरकारले पछिल्लो समय १७ मुलुकका लागि राजदूत सिफारिस गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट एक जना पनि नपरेको भन्दै प्रश्न उठेको छ। राजदूत सिफारिस समावेशी नभएको भन्दै सरकारको आलोचना भइरहेको छ।
यसैबीच समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ। समितिले संविधानको व्यवस्था र राजदूत नियुक्ति निर्देशिका–२०७५ को व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको हो।