मन्त्री हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री

7
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। केही मन्त्रीको कार्यसम्पादनसँग असन्तुष्ट भएका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता लाग्नु अगावै मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्।

गठबन्धनका शीर्ष नेताको बैठकमा मंगलबार मन्त्रिपरिषद् हेरफेरको  विषयमा पनि छलफल भएको थियो। यद्यपि, गठबन्धनका कारण उनले मुख खोल्न भने सकेका छैनन्। आन्तरिक रूपमा भने प्रधानमन्त्री चैत १५ अगावै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी भएको बालुवाटार स्रोतले बताएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले १/२ दिनमै सरकार पुनर्गठनको तयारी गरेका छन्। स्रोतका अनुसार रिक्त रहेका २ मन्त्रालय रक्षा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्ति गर्ने र केही मन्त्री हेरफेर गर्ने उनको तयारी छ।

मन्त्रिपरिषद्मा ६१ सांसद रहेको कांग्रेसबाट प्रधानमन्त्रीसहित ८, ४८ सांसद रहेका माओवादीबाट ६, २३ सांसद भएको एकीकृत समाजवादीबाट ५ र १९ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) बाट ४ जना छन् ।

‘रिक्त दुई मन्त्रालयमा माओवादीले दाबी गरे पनि रक्षा मन्त्रालय प्रधानमन्त्रीले कसैलाई नदिने मनस्थिति बनाउनुभएको छ । बाँकी एउटा मन्त्रालय के गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन,’ कांग्रेसका एक मन्त्रीले भने ।

निर्वाचन आयोगले चैत १५ गते निर्वाचन आचारसंहिता जारी गर्दैछ। त्यो अघि नै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।

समाचार वर्गहरू