काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा राखेका छन् । ठाकुर पक्षीय १३ सांसदलाई रिसोर्टमा राखिएको हो। ठाकुरले पार्टी वरिष्ठ नेता राजेन्द्र महतोलाईसमेत रिसोर्टमै राखेका छन्।
बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको रिसोर्टमा लगेका हुन्।
स्रोतका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा सांसदलाई राखिएको हो । उक्त रिसोर्टमा सूर्यविनायक नगरपालिका ८ का वडा अध्यक्षको लगानीसमेत रहेको बताइएको छ । उक्त रिसोर्टमा ठाकुर पक्षीय सांसदको व्यवस्थापनमा भक्तपुर एमाले नेतृत्वसमेत सहभागी भएको छ ।
जसपा सांसदको व्यवस्थापनमा एमाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, सूर्यविनायक नगरपालिका ८ का वडा अध्यक्ष किरण थापालगायत एमाले नेता सक्रिय भएको स्रोतको दाबी छ ।
महतो सांसदका लागि सम्पूर्ण व्यवस्थापन गरेर फर्किने तयारीमा छन्। ठाकुरले आफ्नो पक्षका १७ मध्ये १३ सांसदलाई मात्र रिसोर्टमा राख्न सकेका हुन्।