महराविरुद्ध प्रहरीमा उजुरी  

15

काठमाडौँ — यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले निवर्तमान सभामुख महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । शनिबार पीडित शाहीले स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर तत्कालीन सभामुख महराविरुद्ध बलात्कार प्रयासको कसूरमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो । महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमान्सँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् ।

पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् । यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।

उच्च प्रहरी स्रोतमा अनुसार पीडित रोशनी स्वयम् आएर महराविरुद्ध किटानी जाहेरी दिएकी हुन् । यस सम्बन्धी थप कारबाही प्रक्रिया आइतबार अगाडिबाट अघि बढाइने स्रोतले जनाएको छ । किटानी जाहेर शनिबार दर्ता भएकोले थप अनुसन्धान प्रक्रिया आइतबारबाट सुरु हुने प्रहरी स्रोतको भनाइ छ ।

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ । तर सांसद पद भने यथावत छ ।

किटानी जाहेरीपछि उनीमाथिको छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसदबाट निलम्बन गराइने छ ।

समाचार वर्गहरू