काठमाडौं – महोत्तरीबाट पैदल हिँडेको १२औँ दिन सोमबार खुलामञ्च पुगेका मिटरब्याजीपीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च छिर्न रोक लगाएको छ ।
सुदखोरबाट ठगिएका पीडितले खुलामञ्चबाट राज्यलाई गुनासो गर्न खोज्दा नगरप्रहरीले मूलगेटमै ताला ठोकेपछी काखे बच्चा च्यापेर आएका सुत्केरीदेखि वृद्धवृद्धासम्म खुलामञ्च गेटअगाडि सडकमै रात काट्न बाध्य भएका छन् ।
काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी भने उनीहरूलाई खुलामञ्च छिर्न रोकेको विषयमा आफू जानकार नभएको बताउँछन् । ‘तपाईंले राति फोन गर्नुभयो । दिउँसोदेखि म अर्कै कार्यक्रममा व्यस्त थिएँ । यसबारे मलाई कुनै जानकारी भएन,’ उनले दाबी गरे ।
सडकमा बसेका पीडितलाई स्वयंसेवकले त्यहीँ खानपानको प्रबन्ध भने गरिदिएका छन् । मध्यरातमा धर्नास्थल पुग्दा उनीहरू खाना खाँदै थिए । तर, पानी परे ओत लाग्ने ठाउँ छैन, शौच गर्ने ठाउँ पनि छैन । धर्नामा रहेका ४३ वर्षीय शिवानन्द यादवले भने, ‘खाना त खाइयो, तर राति पानी पर्यो भने ओत छैन । शौच गर्ने ठाउँ छैन । खुलामञ्चभित्र छिर्न पाएको भए कमसेकम पानी पर्दा ओत त लाग्न पाइन्थ्यो ।’
धनुषा, सिराहा, महोत्तरी, सर्लाहीबाट साहुकारले उठीवास लगाएका पीडितहरू बर्दिबास, पथलैया, हेटौँडा, भीमफेदी, चित्लाङ हुँदै पैदललै काठमाडौं आइपुगेका हुन् ।