(काठमाडौं) – चन्द्रागिरी नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल बिहीबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवाली मार्फत ४ लाख ७१ हजार ८ सय रुपैयाँ मूल्य बराबरको यामाहा कम्पनीका २ थान मोटरसाइकल महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निश्वार्थ प्रदान गरेका श्रोत साधनको उपयोग गरी समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप प्रभावकारिता हासिल गरी समुदायलाई थप सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत पुर्याउने बताए ।
नेपाल प्रहरीको तर्फबाट कुनै पक्षपात नगरी निष्पक्ष रुपमा सांगठनिक निर्देशन बमोजिम कार्य गर्न वृत्तमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए । नगरपालिकाका प्रमुख गिरीले नगरपालिकामा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण कार्यमा थप मद्धत पुर्याउने उद्देश्य अनुरुप महानगरीय प्रहरी वृत्त थानकोटलाई उक्त मोटरसाइकल प्रदान गरिएको बताए ।