महायज्ञका नाममा दलितमाथि ज्यादती – गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

147
फोटो - कान्तिपुर

काठमाडौं – सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन् । उनीसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरी पक्राउ गरेको छ ।

उनीहरूलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए । उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने उनले बताए ।

महायज्ञ मूल आयोजक समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमारको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक (डोम)को घरमा जेसिबी चलाइएको थियो। महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो।

आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ ।

३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो ।

समाचार वर्गहरू