‘महासचिवको नेपाल भ्रमणपछि धेरै कुरा भइरहेको छ’ – प्रधानमन्त्री

5

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आइतबार अपराह्न स्वदेश फर्केका छन् ।

प्रधानमन्त्री दाहाल जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८) सहभागी हुन दुबई गएका थिए। उनले कोप-२८ सम्मेलनमा सम्बोधन गर्दै नेपाल जलवायु परिवर्तनका कारण गम्भीर असरमा परेको बताएका थिए।

उनले कार्बन उत्सर्जनमा नेपालको उल्लेख्य योगदान नभए पनि त्यसको असरबाट गुज्रिनुपरेको बताएका थिए। उनले जलवायुसम्बन्धी कोषबाट नेपालले लाभ लिनुपर्ने ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्बन उत्सर्जनमा नेपालको नगन्य सहभागिता रहे पनि समान रूपले जलवायु परिवर्तनका असर भोगिरहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको बताएका छन्।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८)मा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्यस्ता असर न्युनीकरणका लागि नेपालले वित्तीय लाभ लिनुपर्ने बताए।

उनले यसपटक नेपालको धेरै नै चर्चा भएको बताए। नेपालले अध्यक्षता गरेको राउन्ड टेबल अन्तर्क्रियामा सहभागी सबैले नेपालको हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका असरका विषयमा चर्चा गरेको उनको भनाइ छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले पनि अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री दाहालले बताए। ‘महासचिवको नेपाल भ्रमणपछि धेरै कुरा भइरहेको छ। यो सामान्य कुरा होइन। भोलिका दिनमा तपाईंहरूले प्रगति देख्नुहुन्छ,’ उनले भने।

युएईस्थित नेपाली दूतावासको निरीक्षण गरी नेपाली श्रमिकका लागि प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिएको बताएका थिए। त्यस्तै नेपाली समुदायलाई सम्बोधन गर्दै आफूले देश विकासका निम्ति विदेशमा बस्ने नेपालीहरूको योगदान उच्च रहेको बताउँदै उनले नेपालमा प्रशस्त लगानीका सम्भावना रहेको भन्दै युएईका लगानीकर्तालाई आग्रह गरेको बताए।

सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको र प्रधानमन्त्री मोदीले भूकम्प पीडितका लागि सहयोग गर्न भारत हरदम तयार रहेको आश्वासन दिएको उनले बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू