काठमाडौं – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा शनिबार बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
उनका अनुसार पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।
सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ थियो ।