(काठमाडौं) – कोरियन कम्पनीले रसुवामा निर्माण गर्ने २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनामा लगानी जुटेको छ । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाका लागि वित्तीय सम्झौता भएको हो ।
ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच आयोजना प्रबद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि र ऋण लगानी गर्ने विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा प्रबद्र्धक कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वो सक इ र सम्बन्धित वित्तीय संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । आयोजना निर्माणका लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीको अगुवाइमा ९ वटा दातृ निकायले ४५ करोड ३२ लाख डलर ऋण लगानी गर्नेछन् ।
आयोजना निर्माणका लागि ६४ करोड ७३ लाख डलर लाग्ने अनुमान छ । आयोजनामा आईएफसीले १६ करोड १३ लाख, एसियाली विकास बैंक एडीबीले ६ करोड, एसियाली पूर्वाधार विकास बैंकले ३ करोड ९६ लाख, कोरियाली निर्यात आयात बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन् ।
यस्तै, सीडीसी ग्रुप पीएलसीको २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनीको १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्यूसनको १ करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फण्डको १ करोड ३२ लाख ऋण लगानी रहने प्रबद्र्धक कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बाँकी रकम भने स्वपूँजीबाट जुटाइएको छ । सन् २०२० मा निर्माण सुरु गरी ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । जसमध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँद र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ ।
सरकारले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा आयोजनाको जिम्मा दिएको हो । निर्माण अवधि सहित कम्पनीले ३५ वर्षपछि आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।