मादक पदार्थको नशामा रुकुमको प्रहरी चौकी तोडफोड गरेर वडाअध्यक्ष फरार

20

(रुकुम) – रुकुम पश्चिममा अध्यक्षको नेतृत्वमा प्रहरी पोष्टमा आक्रमण भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार बेलुका ९ बजे वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो ।

अत्याधिक जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेका हुन् । पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा आक्रमण हुँदा केही प्रहरी काम विशेषले बाहिर रहेको बताइएको छ । उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेका छन् ।

‘दिनभर क्वरेन्टीन व्यबस्थापनको कामबाट फर्किएर आउनेबित्तिकै खाना खान लागेको थिएँ,’ प्रहरी सहायक निरीक्षक धनबहादुर साउँदले भने  ‘एक्कासी आतंककारी शैलीमा हामीमाथि आक्रमण गरियो ।’ सुरुमै ड्युटीमा बसेको प्रहरीलाई अध्यक्षले लात्ती हानेका र उनका छोरा लगायतले हातमा चक्कु समातेको स्थानीयले देखेका पोष्ट इन्चार्जसमेत रहेका साउँदले बताए ।

जानकारी अनुसार दादागिरी मच्चाउँदै आएका अध्यक्ष केसीलाई बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गरेको र जवाफमा अध्यक्ष केसीले ‘तँ हवल्दार चुप लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै झाेक्किएर गएका प्रहरीले जनाएको छ ।

त्यसैगरी उनले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छोडेको थियो ।

थप सहयोगको लागि जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घटनास्थल पुग्न नपाउँदै उनी भागेको र अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

यसअघि वडाध्यक्ष केसीले जिल्लाबाट गएको प्रहरीको ड्युटी टोलीका प्रमुखमाथि पनि आक्रमण गरेका थिए । सत्ता र पार्टीको पहुँचका भरमा उनी छुटेका थिए ।
वडाध्यक्ष केसी तत्कालीन माओवादी पार्टीबाट निर्वाचित भएका हुन् ।

समाचार वर्गहरू