मिटरब्याजपीडितको बिचल्ली, हावापानिमा पनि रूखको फेदमा बास

9
फटो - राजकरण महतो

काठमाडौं – आन्दोलनरत मिटरब्याजपीडित कोही खुला आकाशमा त कोही रूखको फेदमुनि रात काटिरहेका छन्। छिन्छिन्मा हुने बेमौसमी बर्षातले उनीहरूलाई बास बस्न निकै कठीन परेको हो।

पानी पर्न थालेपछि उनीहरूलाई खुला आकाशमा रात कटाउन निकै सास्ती परेको उनिहरुको गुनासो छ।उनीहरू शान्तिवाटिकामा बास बसिरहेका छन्। न्यानो कोठाको अभावमा रूखको फेदमुनि सुतेर रात काटिरहेका छन् त कोही भिजेरै मिटरब्याज साहुविरुद्ध अनिदो संघर्षमा छन्।

सोमबार तराईका २० जिल्लाबाट न्यायका लागि उनीहरू हिँडेरै काठमाडौं आएका थिए।

शान्तिवाटिकामा ६ वाटा कोठा र २ वटा प्रतीक्षालय छ। त्यसमा अटाउँदैन। पीडितहरू बाहिर रूखको फेदमा सुत्न बाध्य छन्। बर्षा भएर त्यहाँ पनि सुत्न नसकिएको महोत्तरीका संजिला मण्डलले दुःखेसो पोखिन्। पीडितहरूलाई बर्षासँगै चल्ने चिसो हावाले काठमाडौंको खुला आकाशमा बस्न झनै समस्या भइरहेको छ। सरकारले पीडित जनतालाई न्याय दिलाएर तुरुन्त घर पठाउनुपर्ने उनीहरूले सरकारसँग माग राखेका छन्।

आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताउँदै नवलपरासीका मिटरब्याजपीडत राजन मुराउ भन्छन्, ‘जति दुःख हुन्छ होस्। हाम्रो माग पूरा नभएसम्म घर जाँदैनौं। सरकारले मिटरब्याजी साहुलाई कारबाही गर्न जबसम्म नयाँ कानुन बनाउँदैन। तबसम्म हामी पीडित आन्दोलन गरिनै रहन्छौं।’

मिटरब्याजी साहुविरुद्ध सरकारले तुरुन्त कानुन बनाउनुपर्ने, अदालती प्रक्रियामा परेका मुद्दाहरूको फैसला तत्काल रोक्नुपर्ने, न्यायिक प्रक्रियामा पारेका तमसुक, दृष्टिबन्धक जस्ता विषयवस्तुहरूमा पुनरावलोकन गर्नुपर्नेलगायतका माग राख्दै पीडतहरु निर्णायक आन्दोलनमा उत्रिएका हुन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू