मुख्यमन्त्री आचार्यले भने – पब्लिक क्याम्पस चलाउने जिम्मा प्रदेश सरकारलाई दिइयोस्

89

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उच्च शिक्षा क्षेत्रको सुदृढीकरणका लागि नीतिगत, संरचनात्मक र व्यवहारिक सुधारमा प्रदेश सरकार सक्रिय रहेको बताएका छन् ।

शनिबार दाङको देउखुरीस्थित ऐरावती बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने माग निरन्तर संघीय सरकारसमक्ष राखिँदै आएको जानकारी दिए ।

‘हामीले बारम्बार संघीय सरकारसँग भनिरहेका छौँ । पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारलाई दिइयोस्, ‘उनले भने, ‘एक हिसाबले हेर्दा माध्यमिक शिक्षा (कक्षा १२) सम्म हामीले लगानी गरेका छौँ । तर कानुनले हामीलाई चिनेको छैन । कक्षा १२ सम्मको जिम्मा स्थानीय तहलाई दिइएको छ । सम्पूर्ण उच्च शिक्षाको जिम्मा संघीय सरकारसँग छ । यस्तो अवस्थामै पनि हामीले आफ्नो धर्म निर्वाह गर्दै आएका छौँ ।’

कानुनमा रहेको अस्पष्टता हटाइनु जरुरी छ । कक्षा १२ सम्मको जिम्मेवारी स्थानीय तहले लियो भने सामुदायिक क्याम्पसको जिम्मेवारी हामी लिन तयार छौँ, मुख्यमन्त्री आचार्यले भने, ‘हामी यो विषयमा निरन्तर छलफल गरिरहेका छौँ । सामुदायिक क्याम्पसलाई बेवारिसे बनाउने हाम्रो उद्देश्य होइन ।’

पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, लुम्बिनी प्रदेश समितिका अध्यक्ष युवराज रावतको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

समाचार वर्गहरू