काठमाडौं – शुक्रबार सामाजिक सञ्जालमा एक महिलाले ६ बच्चा जन्माएको भन्दै तस्बिरसहितको पोस्ट फैलियो।
बेडमा सुत्केरी जस्तो देखिने महिला सुतिरहेको, उनको छेवैमा ६ शिशुहरू लस्करै राखिएको र बेडको छेवैमा पाँच जना स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्बिर पोस्ट गर्दै धेरैले लेखेको देखियो, कर्णाली प्रदेशको मुगु जिल्लाको एक सिस्टरले ६ जना बच्चा जन्माइन् ।
जनस्वास्थ्य कार्यालय मुगुका प्रमुख डा निर्मल नगरकोटीले जिल्लाभित्र ६ बच्चाको जन्म भएको विषय हल्ला मात्रै भएको बताए। उनले भने, ‘जिल्लाका कुनै पनि अस्पतालमा ६ बच्चा जन्मिएको भन्ने भेटिएन। हामीले सबै बर्थिङ सेन्टरमा बुझ्दा पनि यस्तो खबर पाएनौं।’
उनले जिल्लाभित्रका बर्थिङ सेन्टरमा यस्तो भएको भए आफूहरूले खबर पाउने बताए। डा नगरकोटीले ६ जना सन्तानलाई जन्म दिने कुरा असम्भव नभए पनि स्वास्थ्यका हिसाबले जटिल विषय भएको बताउँदै भने, ‘कठिन अवस्थाको गर्भवती हुनेबित्तिकै जिल्ला अस्पताल रेफर भइहाल्छन्। अहिले कतैबाट पनि यस्तो खबर छैन। त्यसैले यो सरासर फेक हो।’
एकाएक मुगुको एक महिलाले ६ महिलाले बच्चा दिएको खबर भाइरल भएको खबरले आफूहरू चकित परेको पनि उनले बताए।