काठमाडौँ — नेपाली कांग्रेसले आगामी कार्तिकमा सातै प्रदेशका गाउँपालिकामा आफ्नो पार्टीबाट निर्वाचित अध्यक्ष तथा उपाध्यक्षका लागि प्रशिक्षण दिने भएको छ ।
पार्टी र स्थानीय तहबीच समन्वय बढाउन कांग्रेसले सातै प्रदेशका गाउँपालिकामा आफ्नो पार्टीबाट निर्वाचित अध्यक्ष तथा उपाध्यक्षका लागि प्रशिक्षण दिने भएको हो ।
उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण दिने कार्यक्रम रहेको जनाएको छ । भक्तपुरको बोडेमा हुने प्रशिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रहेका सम्बन्धित गाउँपालिकाका पार्टी अध्यक्ष समेत सहभागी हुने जनाएको छ ।
जनप्रतिनिधिले गर्ने कामले पार्टी संगठनको आधार खडा हुने भएकाले प्रशिक्षण दिन लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले बताए । मुलुकभर गरी कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको संख्या ३ सय ९७ छ ।