मूल्यवृद्दि घट्यो, वैदेशिक लगानी बढ्यो

24

(काठमाडौं) – मुलुकमा मूल्यवृद्धि विस्तारै कम हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म ६ दशमलव ४४ प्रतिशत मूल्यवृद्धि रहेकोमा कार्तिकमा घटेर ६ दशमलव २७ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकासन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार काठमाडौ उपत्यकामा ६ दशमलव ५० प्रतिशत, तराईमा ६ दशमलव ०४ प्रतिशत, पहाडमा ४ दशमलव ५६ प्रतिशत र हिमालमा ४ दशमलव ०१ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि ५ दशमलव ७६ प्रतिशत छ । चार महिनाको औसत मुद्रास्फीति ६ दशमलव २७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

४ महिनामा खुद सेवा आय २ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको ४ महिनामा अवधिमा खुद सेवा आय १३ अर्ब १६ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय ४ महिनामा ११।३ प्रतिशतले बढेर २७ अर्ब ८९ करोड पुगेको छ ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २६।१ प्रतिशतले घटेर २५ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ । यसमध्ये शिक्षातर्फको खर्च १२ अर्ब १७ करोड रहेको छ ।

अघिल्लो वर्षको त्यसै अवधिमा भ्रमण व्यय ३४ अर्ब ९१ करोड र त्यसमध्ये शिक्षातर्फको खर्च १९ अर्ब ३१ करोेड रुपैयाँ रहेको थियो ।

४ महिनामा चालु खाता घाटा ३७ अर्ब ३० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको ४ महिनामा यस्तो घाटा ८८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा अहिलेको ४ महिनामा ३२ करोड ८८ लाख रहेको छ ।

यस्तै, वैदेशिक लगानी पनि बढेको छ । प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सुरुको ४ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब २४ करोड रहेको थियो ।

यस्तै, ४ महिनामा शोधनान्तर स्थिति २७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको छ । गएको वर्ष सुरुको ४ महिनामा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा रहेकोमा अहिले २४ करोड ८ लाखले बचतमा रहेको छ ।

यस्तै २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ६।२ प्रतिशतले बढेर कात्तिक मसान्तमा ११ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ २०७६ कात्तिक मसान्तमा ९ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा १ खर्ब ४४ अर्ब ९५ करोड पुगेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू