काठमाडौं – ताप्लेजुङको मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले आगामी मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।
फुङलिङ नगरपालिका ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका विभिन्न संघ संस्थाले आइतबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा रहेका मुक्कुमलुङ प्रेमीहरूमाथि गोली प्रहार गरेर राज्य पक्षले अक्षम्य गल्ती गरेको छ। दमन र ज्यादतीले पराकाष्ठा नाघेको छ। यस कार्यप्रति घोर आपत्ति र भत्सर्ना गर्दछौँ।’
सात बुँदे आन्दोलनको कार्यक्रममा उनीहरूले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङतर्फ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका हुन्।
ती संगठहरूले चन्द्र ढकालले सञ्चालन गरेको आइएमई बैंकको खाता बन्द गर्न आह्वान गरेका छन् भने सोमबार बैंकअगाडि शान्तिपूर्ण धर्ना दिने बताएका छन्। ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरीको ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्।
शनिबार ‘नो केबलकार समूह’ र प्रहरीबीच दुई पटक झडप भएको थियो। झडपका क्रममा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ–५ का सगुन लावती र फुङलिङ–८ दोखुका धर्मेन्द्र पालुङ्वालाई उपचारका लागि काठमाडौँ ल्याइएको हो।