(काठमाडौं) – सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।
आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन । गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भूमिकामा रहेर काम गरे ।
कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन् । सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ ।