अन्तर्राष्ट्रिय स्तरमा अध्ययनको अवसर प्राप्त गर्नु व्यक्तिगत सफलता मात्र होइन

73

– डा. गंगादत्त नेपाल

१. पृष्ठभूमि

राजधानी काठमाडौंको नजिकै अवस्थित भए तापनि भौगोलिक विकटता र भौतिक पहुँचको अभावले “बत्तीमुनीको अँध्यारो” भन्ने नेपाली उखानलाई सजीव तुल्याउने सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६, तालामाराङ गाउँ (पूर्वको तालामाराङ गाविस) मेरो जन्मस्थली हो। विकासका सूचकहरूबाट अझै पनि धेरै पछाडि रहेको यस गाउँमा शिक्षाको उज्यालोबाट विमुख मेरा माता–पिता, स्वयं अशिक्षित भए तापनि, आफ्ना सन्तानले शिक्षाको उज्यालो पाउनुपर्छ भन्ने आत्मबोधले प्रेरित भई मलाई गाउँकै तत्कालीन श्री पञ्चकन्या प्रा.वि. (हाल पञ्चकन्या आधारभूत विद्यालय) मा भर्ना गराउनु भयो।

जीवनको पहिलो पाठशालाका रूपमा रहनुभएका मेरा अभिभावक र मलाई कखराबाट चिनाउने मेरो विद्यालयप्रति म सदा ऋणी छु। बेञ्च र डेस्कको अभावमा घरबाट बोकेर लगिएको गुन्दीमा बसेर पढ्नुपरेको त्यो परिवेश, कक्षा २ मा अध्ययनरत रहँदा विद्यालय पहिरोले बगाएपछि झिमझिमे झरीमा भीमकाय पहिरो छिचोल्दै नयाँ स्थानमा सारिएको विद्यालय पुग्नुपरेको ती स्मृतिहरू आज पनि मानसपटलमा जीवन्त छन्।

वि.सं. २०३८ मा कक्षा ५ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेपछि करिब साढे एक घण्टाको पैदल दूरीमा रहेको हेलम्बु गाउँपालिका–४ (पूर्वको माहाङ्काल गाविस) स्थित श्री सरस्वती माध्यमिक विद्यालय, ग्याल्थुममा मेरो माध्यमिक शिक्षाको यात्रा अगाडि बढ्यो। सधैं जेहेन्दार विद्यार्थीको रूपमा चिनिँदै विभिन्न छात्रवृत्तिहरू प्राप्त गर्दै, हाजिरीजवाफ, वादविवाद तथा निबन्ध लेखनजस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर अग्रस्थान हासिल गर्दै मैले वि.सं. २०४३ मा सोही विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरें।

घरको आर्थिक अवस्था कमजोर हुँदा पनि उच्च शिक्षाको तीव्र आकांक्षाले मलाई राजधानी काठमाडौंसम्म डोर्यायो। भौतिक विज्ञान विषयमा आइ.एस्सी. अध्ययनका लागि भर्ना भएँ, तर राजधानीमा बसेर पढ्न आर्थिक रूपमा निकै चुनौतीपूर्ण थियो। तथापि, “तँ आँट, म पुर्‍याउँछु” भन्ने भनाइलाई आत्मसात् गर्दै, विभिन्न आवासीय विद्यालयका विद्यार्थीहरूलाई ट्युसन पढाउँदै, संघर्षका आरोह–अवरोह पार गर्दै अन्ततः विज्ञान विषयमा स्नातक तहको अध्ययन सम्पन्न गर्न सफल भएँ।

२. निजामती सेवाको अनुभव

शिक्षा र सीपले सुसज्जित भई देशसेवाको अभिलाषाले प्रेरित भएर मैले नेपाल सरकारको निजामती सेवामा प्रवेश गरें। जागिरप्रतिको रहर मात्र होइन, घर–परिवारको जिम्मेवारीले पनि यस निर्णयलाई अपरिहार्य बनायो। विज्ञान विषयमा स्नातकोत्तर अध्ययनका लागि भर्ना भए तापनि, दिवा सेवाको अनिवार्यता र जागिरको दायित्वले अध्ययनलाई निरन्तरता दिन असम्भव बनायो। तर, ज्ञानप्रतिको मेरो अनुराग कहिल्यै मरेन। पढाइलाई बोझ होइन, जीवनको रमणीय यात्रा ठान्ने मेरो दृष्टिकोणले मलाई त्रिभुवन विश्वविद्यालयको प्राइभेट विद्यार्थीका रूपमा व्यवस्थापन संकाय अन्तर्गत आयोजना तथा कार्यालय व्यवस्थापन विषयमा अर्को स्नातक (वि.कम.) अध्ययन गर्न प्रेरित गर्‍यो।

यस स्वाध्ययनले पछि विभिन्न विकास आयोजनाहरूमा व्यवस्थापक तथा प्रमुखको भूमिकामा कार्य गर्दा उल्लेखनीय सहजता प्रदान गर्‍यो। निजामती सेवामा समावेशीकरणमा आधारित बढुवा प्रक्रिया र संघीय संरचनापछि देखिएको अवैज्ञानिक कर्मचारी व्यवस्थापनले सेवाभित्र नैराश्यको वातावरण सिर्जना गर्‍यो। परिणामस्वरूप, धेरै कर्मचारीहरूले स्वेच्छिक अवकाश लिन थालेका छन्। राजनीतिक परिवर्तनले जनताको आकांक्षा र अपेक्षामा वृद्धि त ल्याउँछ, तर ती आकांक्षाको पूर्ति गर्न सक्ने सेवा प्रणालीको अभावमा परिवर्तनको सार्थकता खण्डित हुन्छ।

यही परिवेशमा मैले पनि निजामती सेवामा कार्य गर्न सहज नठानी, ११ वर्ष सेवा अवधि बाँकी रहँदै स्वेच्छिक अवकाश लिने निर्णय गरें। सार्वजनिक सेवा जनताको आकांक्षा र राज्यको दायित्वबीचको सेतु हो। यही सेतु प्रभावकारी, सर्वसुलभ र उत्तरदायी हुनुपर्छ। राज्य र जनताबीचको सम्बन्ध अभिव्यक्त गर्ने प्रमुख माध्यम सार्वजनिक सेवा भएकाले यसको प्रभावकारिता नै सरकारको लोकप्रियता र सुशासनको सूचक बन्ने गर्छ।

निजामती सेवा सरकारी नीतिको कार्यान्वयन र सेवा प्रवाहको एकमात्र संयन्त्र हो। त्यसैले प्रभावकारी जनशक्ति व्यवस्थापनमार्फत यसलाई उत्पादनशील, उत्तरदायी र सिर्जनशील बनाउनु आजको आवश्यकता हो। परिवर्तित राजनीतिक संरचना र सामाजिक अपेक्षाले ल्याएका अवसर तथा चुनौतीहरूलाई आत्मसात् गर्दै निजामती सेवालाई समयानुकूल रूपान्तरण गर्न सकिए मात्र जन–राज्य सम्बन्ध सुदृढ हुनेछ र राजनीतिक स्थायित्वको आधार निर्माण हुनेछ।

. नेदरल्याण्ड सरकारको छात्रवृत्तिमा अध्ययन

नेपाल सरकारको निजामती सेवामा कार्यरत रहँदै, निजी प्रयासद्वारा सन् २००० मा नेदरल्याण्ड सरकारको प्रतिष्ठित छात्रवृत्तिमा विश्वव्यापी प्रतिस्पर्धाबाट छनोट भई रोटरड्याम सहरमा पोष्ट ग्राजुयट डिप्लोमा अध्ययनका लागि जाने अवसर प्राप्त गर्नु मेरो जीवनको एक ऐतिहासिक उपलब्धि थियो। ग्रामीण परिवेशमा जन्मिएर, सीमित स्रोतसाधनका बीच शिक्षा हासिल गरेको व्यक्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा अध्ययनको अवसर प्राप्त गर्नु केवल व्यक्तिगत सफलता मात्र होइन, सामाजिक सन्दर्भमा पनि प्रेरणादायी उपलब्धि थियो।

यो अवसरले मेरो मनमा उत्सुकता र कौतूहलको तरंग ल्यायो। एकातिर अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वासको वृद्धि भयो भने अर्कोतिर पश्चिम युरोपको मुटुमा अवस्थित नेदरल्याण्ड तथा त्यस आसपासका बेल्जियम, फ्रान्स, जर्मनी र लक्जेम्बर्गजस्ता समृद्ध राष्ट्रहरूको भ्रमणले मेरो सोच, दृष्टिकोण र जीवनदर्शनमा गहिरो प्रभाव पार्‍यो। ती देशहरूको सामाजिक संरचना, विकासको गति र व्यवस्थापन प्रणालीले मेरो मानसपटलमा ज्ञानको नयाँ क्षितिज खोलिदियो।

नेदरल्याण्डमा अध्ययन सम्पन्न गरी नेपाल फर्किएपछि विज्ञान वा इन्जिनियरिङ्ग संकायमा युरोपमै उच्च शिक्षा हासिल गर्ने तीव्र अभिलाषा मनमा पलाए तापनि, तत्कालीन पारिवारिक जिम्मेवारी र आर्थिक अवस्थाले त्यो योजना तत्काल कार्यान्वयन गर्न सम्भव भएन। यद्यपि, यही बीचमा त्रिभुवन विश्वविद्यालयले पहिलो पटक ग्रामिण विकास विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्‍यो, जसमा मैले प्रथम व्याचमै प्रथम श्रेणीमा उत्तीर्ण हुने गौरव प्राप्त गरें।

शायद विभिन्न गैरसरकारी संस्थाहरूमा अध्ययन तथा मूल्याङ्कन सम्बन्धी परामर्शदाताको रूपमा कार्य गरेको अनुभवले ग्रामिण विकास विषयमा मेरो समझ र दक्षता बढाएको थियो। यही कारणले गर्दा मैले उक्त विषयमा स्नातकोत्तर तहको अध्ययन सहजतापूर्वक सम्पन्न गर्न सकें। सन् २०११ मा पुनः नेदरल्याण्ड सरकारको छात्रवृत्तिमा विद्यावारीधि अध्ययन अनुसन्धान शुरुवातका लागि UNESCO-IHE Delft मा “Decentralized Water Supply and Sanitation” विषयमा एक महिनाको प्रशिक्षणमा सहभागी हुने अवसर प्राप्त गरें। त्यहाँका प्राध्यापकहरूसँगको अन्तरक्रियाले विद्यावारिधी गर्ने सोचलाई अझ सशक्त बनायो।

. जर्मन सरकारको छात्रवृत्तिमा अध्ययन

विज्ञानमा उच्च शिक्षा हासिल गर्ने मेरो गहिरो आकांक्षा विभिन्न बाध्यता र परिस्थितिका कारण केही समयका लागि स्थगित भए पनि कहिल्यै मरेन। त्यो इच्छा सधैं जीवित रह्यो—अविचल, अडिग। यही प्रेरणाले सन् २००४ मा नेपाल सरकारको सहमति प्राप्त गरी जर्मनीस्थित प्रतिष्ठित प्राविधिक विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएँ। छनोट प्रक्रिया पश्चात, जर्मनीको काल्सरु विश्वविद्यालय (हाल काल्सरु इन्स्टिच्युट अफ टेक्नोलोजी) मा सिभिल तथा वातावरण इन्जिनियरिङ संकाय अन्तर्गतको प्रादेशिक विज्ञान विषयमा स्नातकोत्तर (एम.एस्सी., एम.फिल. सरह) अध्ययनका लागि छात्रवृत्तिमा सपरिवार जर्मनी जाने अवसर प्राप्त भयो।

त्यो दिन मेरो जीवन र परिवारका लागि अत्यन्त हर्षको क्षण थियो। छात्रवृत्तिको शुरुवातमा मलाई ६ महिनाको जर्मन भाषा प्रशिक्षणको अवसर पनि प्रदान गरियो, जसका लागि सन् २००५ को प्रारम्भमा जर्मनी प्रस्थान गरें। मानहाइमस्थित गोथे इन्स्टिच्युटमा भाषा अध्ययन सम्पन्न गरेपछि काल्सरु विश्वविद्यालयमा औपचारिक अध्ययन सुरु गरें। उक्त विश्वविद्यालयमा अध्ययन गर्नु केवल शैक्षिक यात्रा मात्र थिएन, त्यो एक ऐतिहासिक अनुभव थियो। त्यहाँका १२ जना प्राध्यापकहरूले भौतिकशास्त्र तथा रसायनशास्त्रका विभिन्न विधामा नोबेल पुरस्कार प्राप्त गरिसकेका थिए।

टेलिभिजनको आविष्कारक हर्मन हर्ट्जदेखि सापेक्षतावादका प्रतिपादक अल्बर्ट आइन्स्टाइनसम्मका वैज्ञानिकहरू यहीँबाट विश्वलाई योगदान दिँदै अमर बनेका थिए। विश्वका विभिन्न देशबाट आएका प्रतिभाशाली विद्यार्थीहरूसँगको अन्तरक्रिया, ज्ञानको आदान–प्रदान र सांस्कृतिक विविधताले मेरो सोच र दृष्टिकोणमा गहिरो परिवर्तन ल्यायो। सन् २००७ को अन्त्यतिर, निर्धारित समयभित्र उत्कृष्ट अंकसहित स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएँ।

मेरो अनुसन्धान कार्य उत्कृष्ट ठहरिएपछि विश्वविद्यालयबाट विशेष पुरस्कार प्राप्त गर्न पनि सफल भएँ। प्राध्यापकहरूले जर्मनीमै रहेर अनुसन्धान जारी राख्न सल्लाह दिए तापनि, मैले आफ्नो ज्ञान मातृभूमिमा प्रयोग गर्ने दृढ संकल्पका साथ स्वदेश फर्कने निर्णय गरें। नपाल फर्किएपछि निजामती सेवा र विभिन्न गैरसरकारी संस्थासँगको आवद्धता निरन्तर कायम रह्यो। यसैबीच, फिनल्यान्ड सरकारको सहयोगमा पश्चिम नेपालका जिल्लाहरूमा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी कार्यक्रममा प्रतिस्पर्धाबाट सल्लाहकारको रूपमा छनोट भई सन् २००९ देखि २०१२ को जुलाईसम्म पर्वत जिल्लामा कार्यरत रहें।

कार्यक्रम सञ्चालनका क्रममा धेरै गाउँहरूमा खानेपानीका मूलहरू सुकेका, घटेका वा हराएका अवस्थाहरू देखिए। साथै, जिल्लाका सबै गाविसहरूमा खुला दिसामुक्त अभियान सञ्चालन गरियो। त्यसपछि मैले विद्यावारिधीका लागि अवधारणापत्र तयार गरें, जुन खानेपानी, सरसफाइ तथा जलवायु परिवर्तनको प्रभावसँग सम्बन्धित थियो। आवश्यक आधारभूत कोर्सहरू पूरा गर्न सन् २०१2 को सेप्टेम्बरमा पुनः जर्मन सरकारको छात्रवृत्तिमा टेक्निकल युनिभर्सिटी अफ ड्रेस्डेनमा “Water Resource Management and Climate Change Adaptation” विषयमा एक महिनाको प्रशिक्षणमा सहभागी भएँ।

विद्यावारिधीको निरन्तरताको क्रममा सन् २०१६ को अक्टोबरमा पुनः जर्मन सरकारको छात्रवृत्तिमा बर्लिनस्थित विश्वविख्यात हम्बोल्ड्ट विश्वविद्यालयमा “Climate Change Mitigation and Adaptation” विषयमा अध्ययन गर्ने अवसर प्राप्त गरें—जहाँ अल्बर्ट आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका थिए। तत्पश्चात, सन् २०१८ मा तीन महिनाका लागि विद्यावारिधीको अनुसन्धान कार्य सम्पन्न गर्न जर्मनस्थित टेक्निकल युनिभर्सिटी डेटमोल्डमा अध्ययन गरें।

यी सबै प्रयासहरूको समुचित फलस्वरूप मैले खानेपानी, सरसफाइ तथा जलवायु परिवर्तनको प्रभावसम्बन्धी विषयमा विद्यावारिधी सम्पन्न गरें—जुन म जस्तो ग्रामीण परिवेशबाट आएको व्यक्तिका लागि एक ऐतिहासिक उपलब्धि हो। अध्ययन सम्पन्न भएपश्चात पनि यही क्षेत्रसँग आबद्ध रही विभिन्न आयामहरूमा देशको सेवा गरिरहेको छु—र भविष्यमा पनि यही मार्गमा समर्पित रहने संकल्पका साथ अघि बढिरहेको छु।

. समग्रमा पश्चिम युरोप

पश्चिम युरोपको समग्र विकास, संरचना र सौन्दर्यलाई नजिकबाट नियाल्ने अवसर प्राप्त हुँदा मेरो मनमा बाल्यकालका स्मृतिहरू झलझली जागृत भए। कक्षा १० मा भूगोल विषय पढाउँदा तत्कालीन प्रधानाध्यापकले पेरिसदेखि लन्डनसम्म आन्ध्र महासागरको तल्लो सतहबाट सञ्चालन गरिएको रेल सेवाको चर्चा गर्नुभएको थियो। त्यो समय कल्पनामा मात्र सीमित रहेको यथार्थलाई पेरिसको आइफल टावरको शिखरबाट विश्वको सुन्दर शहर नियाल्दा प्रत्यक्ष अनुभूत गर्न पाउँदा मनमा गहिरो भावनात्मक तरङ्ग उठ्यो।

गाउँको परिवेशमा जन्मिएर हुर्किएका हामीजस्ता व्यक्तिका लागि यस्ता संरचनात्मक चमत्कारहरू अचम्म लाग्नु स्वाभाविक हो। तर ती अचम्महरूलाई नजिकबाट देख्दा, छुँदा र अनुभव गर्दा केवल विस्मय मात्र होइन, प्रेरणा पनि जागृत हुन्छ—प्रेरणा सोचको विस्तारको, सम्भावनाको पुनर्परिभाषाको, र विकासको नयाँ दृष्टिकोणको। पश्चिम युरोपका देशहरू—फ्रान्स, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, लक्जेम्बर्ग—प्रत्येकले विकासको परिभाषालाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी, सामाजिक न्याय, जनसहभागिता, र वातावरणीय सन्तुलनमा समेत समाहित गरेका छन्।

ती देशहरूको व्यवस्थापन प्रणाली, सार्वजनिक सेवा प्रवाह, र नागरिक–राज्य सम्बन्धले मलाई बारम्बार सोच्न बाध्य बनायो—के नेपालले पनि यस्ता अभ्यासहरूबाट केही सिक्न सक्दैन? युरोपको यात्रा केवल भौगोलिक भ्रमण थिएन, त्यो एक बौद्धिक र भावनात्मक यात्रा थियो—जहाँ मैले विकासको बहुआयामिक स्वरूपलाई नजिकबाट देखेँ, अनुभूति गरेँ, र आत्मसात् गरें।

. अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँगको अनुभव

 देशको विकासमा योगदान पुर्‍याउने उद्देश्यले निजामती सेवा र शैक्षिक यात्रासँगै मैले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग पनि कार्य गर्ने अवसर प्राप्त गरें। यी संस्थाहरूको साथमा काम गर्नु केवल पेशागत अनुभवको विषय मात्र थिएन, त्यो एक अन्तरदृष्टि प्राप्त गर्ने यात्रा थियो—जहाँ मैले विश्वस्तरीय कार्यशैली, अनुसन्धान, मूल्याङ्कन र परियोजना व्यवस्थापनका विविध आयामहरू नजिकबाट अनुभूत गर्न सकें। खानेपानी, सरसफाइ, जलवायु परिवर्तन, स्वास्थ्य तथा ग्रामीण विकासजस्ता क्षेत्रहरूमा कार्यरत संस्थाहरूको साथमा काम गर्दा मैले बहु–आयामिक परियोजनाहरूको अवधारणादेखि कार्यान्वयनसम्मको सम्पूर्ण चक्रमा संलग्न हुने अवसर पाएँ।

  • संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (USAID) अन्तर्गत सञ्चालित WASH-FIN परियोजनामा Country Team Lead को रूपमा कार्य गर्न पाउनु मेरो पेशागत जीवनको एक महत्वपूर्ण उपलब्धि थियो। खानेपानी तथा सरसफाइ क्षेत्रको वित्तीय सुदृढीकरण, निजी क्षेत्रको संलग्नता, र सेवा प्रवाहको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित यस परियोजनाले मलाई रणनीतिक नेतृत्व, अन्तरसंस्थागत समन्वय, र नीति–कार्यान्वयनको सेतु बन्ने अवसर प्रदान गर्‍यो। यस परियोजनाले मलाई सेवा प्रवाहमा दीर्घकालीन सोच, वित्तीय अनुशासन, र उत्तरदायित्वको महत्त्वबारे गहिरो समझ प्रदान गर्‍यो। साथै, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको सहकार्यले विश्वस्तरीय अभ्यासहरूलाई नेपाली सन्दर्भमा कसरी सान्दर्भिक बनाउने भन्ने दृष्टिकोण विकसित गर्‍यो। Country Team Lead को रूपमा कार्य गर्दा मैले महसुस गरें—यदि सही नेतृत्व, समन्वय र प्रतिबद्धता भएमा खानेपानी तथा सरसफाइ क्षेत्रमा दिगो परिवर्तन सम्भव छ। यही विश्वासले मलाई अझ उत्तरदायी र सृजनशील बन्न प्रेरित गर्‍यो।
  • विश्व स्वास्थ्य संगठन (WHO Nepal) सँगको सहकार्य अनुभव: नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रको सुदृढीकरणमा योगदान पुर्‍याउने उद्देश्यले मैले विश्व स्वास्थ्य संगठन (WHO Nepal) सँग Drinking Water Supply and Sanitation (DWSS) नेपाल सरकारसंगको समन्वयमा कार्य गर्ने अवसर प्राप्त गरें। यो सहकार्य मेरो पेशागत जीवनको एक महत्वपूर्ण अध्याय थियो, जहाँ सार्वजनिक स्वास्थ्य, सरसफाइ, र सुरक्षित पानीको पहुँचलाई व्यवहारिक रूपमा सम्बोधन गर्ने अवसर मिल्यो। WHO Nepal सँगको सहकार्यले मलाई अन्तर्राष्ट्रिय मानकअनुसार स्वास्थ्य–सुरक्षा सम्बन्धी मापदण्डहरू, जोखिम मूल्याङ्कन, र निगरानी प्रणालीको विकासमा संलग्न गरायो। DWSS को प्राविधिक संरचना र स्थानीय तहको कार्यशैलीसँग समन्वय गर्दै, मैले ग्रामीण तथा शहरी क्षेत्रमा सुरक्षित पानीको पहुँच, सरसफाइको सुधार, र जनचेतना अभिवृद्धिमा केन्द्रित परियोजनाहरूमा काम गरें। विशेषतः जलजन्य रोगहरूको न्यूनीकरण, पानीको गुणस्तर परीक्षण, र व्यवहार परिवर्तनका लागि सञ्चालित कार्यक्रमहरूमा मेरो सक्रिय भूमिका रह्यो। WHO को वैज्ञानिक दृष्टिकोण र DWSS को प्राविधिक दक्षताको संयोजनले परियोजनाहरूलाई प्रभावकारी बनायो। यस सहकार्यले मलाई सार्वजनिक स्वास्थ्यको दृष्टिकोणबाट खानेपानी तथा सरसफाइ क्षेत्रलाई हेर्ने दृष्टि प्रदान गर्‍यो। साथै, अन्तर्राष्ट्रिय संस्थासँगको समन्वय, नीति निर्माणमा वैज्ञानिक प्रमाणको प्रयोग, र स्थानीय कार्यान्वयनको व्यवहारिकता बीचको सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा गहिरो समझ दिलायो।
  • OXFAM (DfID) नेपालसँग वि.सं. २०७२ (सन् २०१५) को विनाशकारी भूकम्पले नेपाललाई गहिरो पीडा र चुनौतीको सामना गरायो। हजारौं मानिसको जीवन प्रभावित भयो, संरचनाहरू ध्वस्त भए, र आधारभूत सेवा प्रणाली पूर्णरूपमा चरमरायो। यही संकटको घडीमा, मैले Oxfam को तर्फबाट सिन्धुपाल्चोक जिल्लामा सञ्चालित WASH (Water, Sanitation and Hygiene) आपतकालीन प्रतिक्रिया कार्यक्रमको Team Leader को रूपमा कार्य गर्ने अवसर प्राप्त गरें। सिन्धुपाल्चोक भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक थियो। भौगोलिक विकटता, जनसंख्याको घनत्व, र संरचनागत क्षतिले गर्दा राहत तथा पुनःस्थापनाको कार्य अत्यन्त चुनौतीपूर्ण थियो। यस्तो संवेदनशील अवस्थामा Oxfam को नेतृत्वमा सञ्चालित WASH कार्यक्रमले सुरक्षित खानेपानी, अस्थायी शौचालय, सरसफाइ सामग्री वितरण, र जनचेतना अभिवृद्धिमा केन्द्रित कार्यहरू सञ्चालन गर्‍यो। यस भूमिकामा रहँदा मैले महसुस गरें—आपतकालीन अवस्थामा सेवा प्रवाह केवल प्राविधिक कार्य मात्र होइन, त्यो संवेदनशीलता, सहानुभूति र मानवताको अभ्यास हो। Oxfam जस्तो अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यले मलाई संकट व्यवस्थापन, अन्तरसंस्थागत समन्वय, र दिगो पुनःस्थापनाको दृष्टिकोणमा गहिरो समझ प्रदान गर्‍यो।
  • LGCDP (Local Governance and Community Development Programme) : नेपाल सरकार र १६ विकास साझेदारहरुसंगको सहकार्यमा सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) मा अनुगमन, मूल्याङ्कन तथा उत्तरदायित्व (Monitoring, Evaluation and Accountability – MEA) विशेषज्ञको रूपमा धनगढी क्षेत्रीय कार्यालयमा कार्य गर्न पाउनु मेरो पेशागत जीवनको एक महत्वपूर्ण अवसर थियो। LGCDP नेपालको स्थानीय शासन प्रणाली सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि, र जनसहभागितामा आधारित विकास सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित एक बहुआयामिक कार्यक्रम हो। यस कार्यक्रमले स्थानीय तहलाई सशक्त बनाउँदै, समुदायको आवाजलाई नीति निर्माणमा समाहित गर्ने प्रयास गरिरहेको थियो। धनगढी क्षेत्रीय कार्यालयबाट सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा कार्य गर्दा मैले स्थानीय शासनको व्यवहारिक पक्ष, सामाजिक संरचना, र समुदायको अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएँ। MEA विशेषज्ञको रूपमा कार्य गर्दा मैले महसुस गरें—स्थानीय शासनको सुदृढीकरण केवल संरचनागत सुधार होइन, त्यो जन–राज्य सम्बन्धको पुनःपरिभाषा हो। जब समुदायको आवाज सुन्ने, मूल्याङ्कन गर्ने र जवाफ दिने प्रणाली सुदृढ हुन्छ, तब मात्र लोकतन्त्रको सार्थकता स्थापित हुन्छ।
  • फिनल्यान्ड सरकारको सहयोगमा सञ्चालित पश्चिम नेपालका जिल्लाहरूमा खानेपानी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम अन्तर्गत सल्लाहकारको रूपमा कार्य गर्दा मैले स्थानीय समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै व्यवहारिक समस्याहरूको समाधान खोज्ने अभ्यास गरें। पर्वत जिल्लामा सन् २००९ देखि २०१२ सम्म (करीव ३.५ वर्ष) कार्यरत रहँदा जिल्लाका सबै गाविसहरूमा खुला दिसामुक्त अभियान सञ्चालन गर्नु, खानेपानीको मूल स्रोतको संरक्षण तथा पुनःस्थापना गर्नु, र जनचेतना अभिवृद्धि गर्नु मेरा प्रमुख कार्यक्षेत्रहरू थिए।
  • UN Habitat संगको अनुभव: नेपालका तराई तथा भित्री मधेश क्षेत्रहरूमा पिउने पानीमा आर्सेनिकको मात्रा खतरनाक स्तरमा पुगेको तथ्यले सार्वजनिक स्वास्थ्यमा गम्भीर चुनौती उत्पन्न गरिरहेको थियो। यही सन्दर्भमा, संयुक्त राष्ट्रसंघीय आवास कार्यक्रम (UN-Habitat) द्वारा सञ्चालित Arsenic Blanket Testing Program अन्तर्गत दाङ जिल्लामा फील्ड मनिटरको रूपमा कार्य गर्ने अवसर पाउनु मेरो लागि एक महत्वपूर्ण जिम्मेवारी थियो। यस कार्यक्रमको उद्देश्य आर्सेनिकको जोखिमयुक्त क्षेत्रहरू पहिचान गर्दै, सुरक्षित पानीको पहुँच सुनिश्चित गर्नु तथा जनचेतना अभिवृद्धि गर्नु थियो। फील्ड मनिटरको रूपमा मैले निम्न जिम्मेवारीहरू निर्वाह गरें, यस भूमिकामा रहँदा मैले महसुस गरें—पिउने पानीको गुणस्तर केवल प्राविधिक विषय मात्र होइन, त्यो जनस्वास्थ्य, सामाजिक न्याय र जीवनको अधिकारसँग गहिरो रूपमा जोडिएको विषय हो। UN-Habitat जस्तो अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यले मलाई वैज्ञानिक परीक्षण, समुदाय–संवेदनशीलता, र नीतिगत सिफारिसबीचको सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा गहिरो समझ दिलायो।
  • रास्ट्रिय सूचना व्यवस्थापन आयोजना (NMIP) मा रहेर कार्य गर्दा, नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSS) अन्तर्गत सञ्चालित National Management Information Project (NMIP) मा अनुगमन, मूल्याङ्कन तथा MIS (Management Information System) अधिकृतको रूपमा कार्य गर्न पाउनु मेरो पेशागत जीवनको एक विशिष्ट अवसर थियो। यो परियोजना दातृ निकायको सहयोगमा सञ्चालित एक महत्त्वपूर्ण पहल थियो, जसको उद्देश्य खानेपानी तथा सरसफाइ क्षेत्रको सूचना व्यवस्थापन प्रणाली सुदृढ गर्दै, नीति निर्माण र सेवा प्रवाहलाई तथ्यमा आधारित बनाउनु थियो।यस भूमिकामा रहँदा मैले महसुस गरें—सूचना व्यवस्थापन केवल प्रविधिको विषय होइन, त्यो सेवा प्रवाहको पारदर्शिता, उत्तरदायित्व र प्रभावकारितासँग गहिरो रूपमा जोडिएको विषय हो। NMIP/DWSS मा कार्य गर्दा मैले राष्ट्रिय स्तरको योजना व्यवस्थापन, अन्तरसंस्थागत समन्वय, र तथ्यमा आधारित निर्णय प्रक्रियाको महत्त्व बुझ्न सकें। MIS प्रणालीको माध्यमबाट सेवा प्रवाहलाई मापनयोग्य, उत्तरदायी र रणनीतिक बनाउने अभ्यासले मेरो कार्यशैलीमा स्थायी प्रभाव पार्‍यो।
  • परामर्शदाताको रुपमा अनुभव : सरकारी सेवामा रहंदा नै विश्व बैकको आर्थिक सहयोगमा संचालित ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिति, प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संचालित संचालित ग्रामिण खानेपानी, एशियाली विकास बैकको आर्थिक सहयोगमा संचालित साना शहरी खानेपानी आयोजनहरुमा परामर्शदाताको रुपमा विभिन्न जिल्लाहरुमा कार्य गर्ने अवसर मिल्यो । यस कार्यवाट कार्यक्रम योजना र कार्यान्वयनस् शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरणीय सचेतना तथा जीविकोपार्जनका क्षेत्रमा केन्द्रित परियोजनाहरूको योजना निर्माण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु। समुदायसँग प्रत्यक्ष समन्वयस् स्थानीय तह, विद्यालय, महिला समूह, युवा क्लब तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै कार्यक्रमको स्वामित्व र सहभागिता सुनिश्चित गर्नु। प्राविधिक तथा व्यवस्थापकीय नेतृत्वस् संस्थागत टोलीको नेतृत्व गर्दै कार्यको गुणस्तर, समयानुकूलता र परिणाममुखीता कायम राख्नु। अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदनस् कार्यक्रमको प्रगति, प्रभाव र चुनौतीहरूको नियमित मूल्याङ्कन गर्दै संस्थालाई तथ्यमा आधारित प्रतिवेदन प्रस्तुत गर्ने कामले मलाई गैह्रसरकारी संस्था संगको कामको गहिरो अनुभव भयो । समग्रमा “विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू (जस्तै SWC, USAID, UKAID) द्वारा सञ्चालित अध्ययन तथा मूल्याङ्कन टोलीमा परामर्शदाताको रूपमा संलग्न रहँदा, मैले नीति निर्माण, परियोजनाको प्रभाव मूल्याङ्कन, तथा दीर्घकालीन रणनीति तर्जुमा सम्बन्धी कार्यहरूमा महत्वपूर्ण योगदान पुर्याएको छु।” “विभिन्न अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यले मलाई बहुपक्षीय दृष्टिकोण, सांस्कृतिक विविधताको सम्मान, र अन्तर्राष्ट्रिय मानकअनुसार कार्य गर्ने दक्षता प्रदान गर्‍यो। यस अनुभवले नेपालमा व्यवहारिक रूपमा लागू गर्न सकिने अभ्यासहरूको पहिचान गर्न मद्दत गर्‍यो, जसले नीति निर्माण तथा परियोजना कार्यान्वयनमा सशक्त योगदान पुर्‍याउन सम्भव बनायो। अन्तरसंस्थागत समन्वय, सेवा भाव, उत्तरदायित्व र समर्पणको गहिरो अनुभूति मैले यिनै संस्थाहरूको साथमा कार्य गर्दा प्राप्त गरें। आज पनि म यही अनुभवको आधारमा देशको सेवा गर्ने मार्गमा निरन्तर अग्रसर छु।”

. बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रूपमा अनुभव

नेपालको संघीय संरचना अन्तर्गत प्रदेश सरकारको नीति निर्माण र योजनागत मार्गदर्शनमा योगदान पुर्‍याउने अवसर पाउनु मेरो जीवनको एक महत्वपूर्ण मोड थियो। बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रूपमा कार्य गर्न पाउँदा मैले प्रदेशस्तरीय विकास अवधारणालाई व्यवहारमा उतार्ने अवसर प्राप्त गरें। यस भूमिकामा रहँदा मैले प्रदेशको दीर्घकालीन विकास रणनीति, नीति निर्माण, योजना तर्जुमा तथा कार्यान्वयनको समन्वयमा सक्रिय भूमिका निर्वाह गरें। आयोगको नेतृत्वदायी हैसियतले मलाई प्रदेशका विभिन्न मन्त्रालय, स्थानीय तह, विकास साझेदार, तथा नागरिक समाजसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्‍यो।

यसले नीति निर्माणलाई बहुपक्षीय दृष्टिकोणबाट हेर्ने दृष्टि विकसित गर्‍यो। प्रदेशको सामाजिक, आर्थिक तथा भौगोलिक विविधतालाई समेट्दै समावेशी, दिगो र सन्तुलित विकास सुनिश्चित गर्न आयोगले तयार गरेका रणनीतिक दस्तावेजहरूमा मेरो सक्रिय सहभागिता रह्यो। विशेषतः जलवायु परिवर्तन, पूर्वाधार विकास, मानव संसाधन सशक्तीकरण, तथा ग्रामीण–शहरी समन्वयमा आधारित योजनाहरूको अवधारणामा मैले योगदान पुर्‍याएँ।

सार्वजनिक नीति निर्माणमा तथ्य, अनुसन्धान र अनुभवको समायोजन अत्यावश्यक हुन्छ भन्ने मान्यताका साथ मैले आयोगमा रहँदा विभिन्न अध्ययन, मूल्याङ्कन तथा परामर्शदाताहरूको संलग्नता सुनिश्चित गरें। यसले नीति निर्माणलाई केवल राजनीतिक दस्तावेज होइन, व्यवहारिक कार्ययोजना बनाउने दिशामा अग्रसर गर्‍यो। प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षको रूपमा कार्य गर्दा मैले महसुस गरें—यदि सही दृष्टिकोण, समन्वय र प्रतिबद्धता भएमा प्रदेशस्तरीय शासन प्रणालीले जनताको आकांक्षा सम्बोधन गर्न सक्दछ। यही विश्वासले मलाई अझ उत्तरदायी, सृजनशील र दूरदर्शी बन्न प्रेरित गर्‍यो।

समग्रमा, समयसँगै परिवेश निरन्तर रूपान्तरण हुँदै आएको छ। आज गाउँघरमा उज्यालो वत्तिको प्रकाश फैलिएको छ, प्रत्येक हातमा मोबाइल पुगेको छ, पक्की बाटो बनेर गाडीको सुविधा पनि सहज रूपमा उपलब्ध भएको छ। हामीले अध्ययन गरेको कालखण्डको तुलनामा वर्तमान शैक्षिक वातावरण पूर्णतः भिन्न भइसकेको छ। रोजेका विषयहरू अध्ययन गर्न पर्याप्त विद्यालय तथा कलेजहरू खुलेका छन्, तर चुनौतीहरूको संख्या पनि बढेको छ। प्रविधिको सकारात्मक प्रयोगले विकासलाई सम्भव बनाउँछ; तर यसको दुरुपयोगले दुर्घटनाबाहेक केही परिणाम ल्याउँदैन।

त्यसैले प्रविधिको सदुपयोग अपरिहार्य छ। आजको अत्यन्त प्रतिस्पर्धी समाजमा सबैखाले प्रतिस्पर्धामा खरो उत्रन सक्ने क्षमता विकास गर्नु अनिवार्य छ। यद्यपि, नैतिकताको संकट देखिएको वर्तमानमा नैतिकवान र चरित्रवान युवाशक्ति निर्माण गर्नु हाम्रो प्रमुख दायित्व हो। यस कार्यमा विद्यार्थी, शिक्षक तथा अभिभावक सबैको समान भूमिका रहन्छ।

‘आचार्य देवो भव’ भन्ने नीतिशास्त्रको सन्देशलाई पुनः स्मरण गर्दै, एक दूर्गम गाउँबाट यात्रा आरम्भ गरी पश्चिम युरोपमा अध्ययन, अमेरिकासम्म कार्य, र अन्ततः देशको उच्च सेवामा प्रदेश योजना आयोगको माननीय उपाध्यक्षको राजनीतिक जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गराउनुभएको मेरा अभिभावक तथा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा अर्पण गर्दछु।

(पंक्तिकार डा. नेपाल, मेलम्ची नगरपालीका तालामाराङ सिन्धुपाल्चोकका स्थायी वासिन्दा तथा बुढानिलकण्ठ १२ कपनमा बसोबास गर्छन् जलश्रोत जलवायु परिवर्तनमा विद्यावारिधी पीएचडी गरेका नेपालले निजामती सेवावाट स्वच्छिक अवकाश लिई विभिन्न द्विपक्षीय तथा पहुपक्षीय गैह्रसरकारी संस्थाहरुमा परामर्शदाताको रुपमा कार्यरत रहेका छन् निजले बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रूपमा कार्य समेत गरिसकेका छन् )

समाचार वर्गहरू