काठमाडौं – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले केन्द्रिय सरकारले अहिलेसम्म पनि मेलम्ची खानेपानी प्रभावितहरुको मागको सुनुवाई नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंह, बागमती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ , नवनिर्वाचित सांसदहरु खानेपानीको अवलोकनका क्रममा बिहिबार हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथान अडिट पुगेको समयमा अध्यक्ष शेर्पाले स्थानिय समस्याको बेवास्ता गरेकाप्रती असन्तुष्टी जनाएका हुन् ।
मेलम्चीको खानेपानी काठमाडौंमा बितरण गरेवापत प्राप्त महसुलो २५ प्रतिशत रकम प्रभावित क्षेत्रका स्थानियबासीले पाउने सुनिश्चतता नभएसम्म मेलम्चीको पानी काठमाडौं पठाउन हेलम्बुबासी असमर्थ रहेको उनको भनाइ थियो ।
मेलम्चीको पानी काठमाडौं लगेर बेच्ने भएपछी स्थानियले त्यसको हिस्सा पाउनुपर्नेमा जोड दिँदै शेर्पाले भने ‘ कि त मेलम्चीको पानी काठमाडौंमा निशुल्क वितरण गर्नुपर्यो होइन भने पानि विक्रिबाट प्राप्त रकमको २५ प्रतिशत हिस्सा हेलम्बुबासीले पाउनुपर्यो । यो मागमा हामी कुनैहालतमा पछी हट्ने छैनौं’ ।
स्थानियबासीको मागलाई वेवास्ता गरे वा हेलम्बु भेगका जनताप्रती केन्द्रिय सरकार गम्भिर नभए स्थानियबासी चुपलागेर नबस्ने उनले चेतावनी दिए ।
मेलम्चीको पानि काठमाडौं पठाउने क्रममा गत चैत २९ गते हेलम्बु गाउँपालिकाले स्थानियहरुको समस्या समेटेर खानेपानि मन्त्री उमाकान्त चौधरी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष ११ बुँदे ध्यानाकर्षण पत्र पठाएको थियो ।
मेलम्ची खानेपानी प्रभावित क्षेत्रका बासिन्दा हरुकोलागी सञ्चालित स्थानिय सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानिय सरकार मार्फत सञ्चालन गर्नुपर्ने, स्थानियबासीले पाउने खानेपानिको महसुल लेविको टुङ्गो लगाउनुपर्ने, स्थानिय बाढिपिडितहरुलाई कम्तिमा प्रति परिवार २० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, बाढिको कारण बगेका व्यवसायीहरुको व्यवसाय पुनर्स्थापनामा सहयोग गर्नुपर्ने लगायतका मागहरु उक्त ध्यानाकर्षणपत्रमा समेटिएको थियो ।
गत जेठ दोस्रो साता देखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबार देखि सुरुङमा हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिव १०देखि १२ दिन पछि काठमाडौ पानी पुग्ने मेलम्ची खानेपानी आयोजले जनाएको छ ।
सम्बन्धीत फाइल भिडीयो –