काठमाडौँ — हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गृहमन्त्री बालकृष्ण खाँणलाई मेलम्ची खोला वरपरका बस्ती सार्नुको विकल्प नभएको बताएका छन् ।
शनिबार राति मेलम्चीमा गएको बाढी र पहिरोको उद्गमस्थलको आइतबार बिहान हेलिकप्टरबाट अनुगमन गरेर फर्केपछि अध्यक्ष शेर्पाले गृहमन्त्री खाँणलाई उक्त अवस्थाको जानकारी गराएका हुन् ।
‘मेलम्चीको मुहानभन्दा तल चौरमा माथिबाट बगेर आएको ढुंगा, माटो र बालुवा थुप्रिएको छ । सानो पानी पर्दा त्यो कटान भएर बगिरहेको हो यो अझै निरन्तर आइरहने सम्भावना छ,’ अध्यक्ष शेर्पाले भने, ‘हामीसँग मेलम्चीको वरिपरीको बस्तीलाई सार्नुभन्दा अर्को विकल्प छैन । प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रीलाई पनि यसबारे जानकारी गराइसकेका छौं ।’
मेलम्चीको पानीले उक्त चौरमा करिब २ सय मिटर उचाइका ढिस्का तयार पारेको र ती पनि बग्ने क्रममा रहेको स्थलगत अध्ययनमा गएका नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता सुदर्शन आचार्यले बताए । ‘पानीमा लेदो बग्दै आइरहेको छ । अझै रोकिने अवस्था छैन । पानी परेमा झन् खतरा छ,’ उनले थपे ।