सिन्धुपाल्चोक – मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो ।
मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठलगायतको घर बगाएको र स्थानिय प्रेमकृष्ण श्रेष्ठको घर बाढिले ढाल्नै लागेको रेडियो मेलम्चिका अध्यक्ष डम्बर भारतीले जानकारी दिए । अहिले पनी मेलम्चि खोलाको बाढी निरन्तर बजार क्षेत्रतर्फ बढिरहेको उनले बताए ।
शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
उनका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।
यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।