मौन अवधिमा के के गर्न पाईन्छ ? के-के गर्न पाईँदैन ?

6

काठमाडौं – स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि लागु भएको छ। मौन अवधिमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने ‘हरेक उम्मेदवारले मनमनै मैले चुनाव जित्छु कि जित्दिन होला? मैले कस्तो प्रचार गरेको छु भनेर स्मरण गर्न र समीक्षा गर्न पाउँछ,’।

उनले मतदाताहरु परिचय पत्र लिन मतदान केन्द्रमा जान पाउने बताए। ‘परिचयपत्र लिन जाँदा त्यहाँ हामीले दुई दिन मतदाता शिक्षाका लागि स्वयंसेवक र कर्मचारीबाट आवश्यक बन्दोबस्त गरेका छौं। कसरी सही ठाउँमा मतदान गर्ने, स्वस्तिक कसरी लगाउने, मतपत्र कसरी पट्याउने भनेर सिक्न जाने र जानैपर्ने हो,’ उनले भने।

कुन उम्मेदवारले के भने यो बीचमा, उनीहरुको अनुहार सम्झिने, चिह्न सम्झिने र अन्य सबै कुरा सम्झिएर आफ्नो विवेकको ऐनामा त्यसलाई हेर्ने अनि भोलिपल्ट ट्याक्क तयारीका साथ जाने, भटाभट राम्रो मान्छेलाई निर्वाचनमा आफ्नो मत प्रकट गर्ने उनको भनाई थियो ।

उनले भने, ‘गर्न पाउने भनेको यिनै हुन्। यिनै विषयसँग जोडिएका विषय गर्न सकिनेछन्। तर निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि किसिमका कार्यहरु गर्न सकिन्न्।’

आयोगकाअनुसार यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन।

यसैगरी राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउन पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमवाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नपाईने आयोगको भनाई छ।

के-के गर्न पाईँदैन ?

मौन अवधिमा उम्मेदवार‚ राजनीतिक दल‚ तिनका भ्रातृ संगठनले कुनै पनि प्रकारका कार्यशाला, गोष्ठी‚ अन्तरक्रिया, सम्मेलन वा निर्वाचनसँग सम्बन्धित छलफलमा गर्न नपाउने निर्वाचन आचारसंहिता २०७८ मा  उल्लेख छ।

यस्तै‚ कुनै पनि माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा जनाइएको छ। सामाजिक सञ्जाल‚ अनलाइन‚ छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्षा वा विपक्षमा कुनै सन्देश‚ सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न/गराउन नपाइने उल्लेख छ।

आचारसंहिताको ५ (छ) मा भनिएको छ, ‘मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न पनि पाइदैन।’

मौन अवधि शुरु हुनुभन्दा अगाडि राजनीतिक दला वा उम्मेदवारको प्रचारप्रसार सामग्री राखिएको भए हटाउनुपर्ने छ।

निर्वाचन वैशाख ३० गते हुँदैछ। ७५३ स्थानीय तहको ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा एक लाख ४५ हजार ११ जना छन्। ती मध्ये ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष छन्। ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।

समाचार वर्गहरू