मौसममा बदली, वर्षा र हिमपातको सम्भावना

36

(काठमाडौं) – मंगलबार मुलुकका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको पश्चिम भेग भएर पश्चिम न्यून चापीय प्रणाली भित्रिएको र यसको प्रभावले आगामी ३ दिन बदली, वर्षा र हिमपात हुनसक्ने देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार बिहान भित्रिएको नयाँ प्रणालीको प्रभाव अहिले देशको पश्चिम भागमा परिरहेको छ । यसकै प्रभाव स्वरूप हिमाली भेगमा हिमपात र पश्चिमकै पहाडी र तराईमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

पश्चिमी भागको मौसम दिनभरि नै बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने उहाँले बताउनु भयो । यो प्रणाली पर्सि दिनभर यो श्रृंखला जारी रहेपनि बिहीबार साँझबाट भने मौसमी सुधारिने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

समाचार वर्गहरू