म्यानपावर व्यवसायीको चेतावनी– ‘संवाद नगरी निर्णय नहोस्’

15

(काठमाडौं) – वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुसँग सहकार्य गरेर मात्रै वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय गर्न सराकारसँग माग गरेका छन् ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी, श्रमिक र सम्बन्धित निकायबीच समन्वय, सहकार्य गरी कुनै पनि निर्णय गर्दा व्यवसायी र श्रमिकको हित हुने र यसरी गरिने सहकार्य सम्वादबाट मात्र सकारात्मक परिणाम प्राप्त हुने बताएको छ ।

म्यानपावर व्यवसायीले चेतावनी सहित आफूहरुसँग सहकार्य गरेर मात्रै व्यवसायीसँग सम्बन्धित निर्णय गर्न वैदेशिक रोजगार विभाग समक्ष माग गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई मन्त्रिपरिषद्बाट हटाएको दोस्रो दिन व्यवसायीले यस्तो माग गरेको हो । शून्य लागतको नीति लिँदा र म्यानपावरलाई कडाई गर्दा रेमिट्यान्समा असर पुगेको भन्दै ओलीले विष्टलाई मन्त्रीबाट हटाएका थिए ।

व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरे तापनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ प्रावधान लागू गर्ने जस्ता कार्यले व्यवसायीमा द्विविधा उत्पन्न भएको उनीहरुको भनाई छ ।

विभागले पछिल्ला समयममा विभिन्न नीतिगत निर्णय गर्दै कामदारको हित अनुकुलको व्यवस्थाहरु गर्दै आएको छ । लमो समयदेखि यस्ता विषयमा मौन रहेको संघ अब बोल्न थालेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरेता पनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, सम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछि अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागू गर्ने जस्ता कार्यले व्यवसायीमा दुविधा उत्पन्न भएको देखिन्छ ।’

संघले भने एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने बताएको छ ।

संघका महासचिव सुचितकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागु गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागु गर्न गराउन वैदेशिक रोजगार विभाग लगायतका सम्बन्धित निकायमा अनुरोध गरिन्छ ।’

समाचार वर्गहरू