काठमाडौं – म्यानमारको सैन्य परिषद्ले शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ ।
यसअघि म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने बताएका थिए । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको शहर मान्डलेमा ६९४ भन्दा बढीको मृत्यु भएको छ । जबकि राजधानी नेपिडामा ९४ जनाको मृत्यु भएको छ।
म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको तीव्रता ७ दशमलब ७ थियो । यस भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो । थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता छन् ।
सयौँ माइल टाढा रहेको थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । त्यहाँ धेरै कामदार अझै पनि फसेको आशंका गरिएको छ। एजेन्सी