मध्यबिन्दु/ताप्लेजुङ – राजनीतिक प्रभावका आधारमा ‘यती ग्रुप’ले ताप्लेजुङको पाथीभरामा ३१७ रोपनी सरकारी जग्गा सित्तैमा लिएको पाइएको छ । यसअघि सोलुखुम्बुस्थित सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा कब्जा गरेको सो समूहले पाथीभरामा केबलकार सञ्चालन गर्न ३१७ रोपनी सरकारी जग्गा ८० वर्षका लागि सित्तैमा पाएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा पाथीभरा देवी दर्शन प्रालिले काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म करिब चार किलोमिटर केबलकार सञ्चालन गर्न लागेको छ । यती ग्रुपको लगानी रहेको उक्त कम्पनीमा केबलकार सञ्चालन गर्न अनुमति लिँदा १२ लाख रुपैयाँ शुल्क बुझाए पनि ३१७ रोपनी सरकारी जग्गा ८० वर्षसम्म उपभोग गर्न सरकारलाई एक रुपैयाँ पनि शुल्क तिरेको छैन ।
काठमाडौंको गोकर्णमा रिसोर्ट सञ्चालन गर्नको लागि २७ सय ९२ रोपनी जग्गा कौडीको भाउमा लिजमा दिएको सरकारले यती ग्रुपलाई केबलकार सञ्चालनको नाममा फेरि सित्तैमा जग्गा भाडामा दिएको हो ।
पाथीभरामा केबलकार सञ्चालन गर्न विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले कम्पनी दर्ता गरेका थिए । लामो समयसम्म अनुमति नपाएको उक्त कम्पनीमा यती समूहले लगानी गरेपछि सरकारले सञ्चालनको अनुमति मात्र दिएन ३१७ रोपनी सरकारी जग्गा सित्तैमा भोगचलन गर्ने अधिकार समेत दिएको छ ।
काननतः स्थानीय तहले केबलकार सञ्चालनको अधिकार प्रदान गर्न पाउँदैन । तर, फुङलिङ नगरपालिकाले भने एक साताभित्रै सबै प्रक्रिया पूरा गरेर यती समूहको लगानी भएको कम्पनीलाई केबलकार सञ्चालनको अनुमति दिएको देखिन्छ ।
२०७५ जेठ ६ गते कार्यविधि बनाएको नगरपालिकाले जेठ ९ गते आवेदन माग गरेर जेठ १३ गते नै अनुमतिपत्र दिएको थियो । नगर कार्यपालिकाले केबलकार सञ्चालनको अनुमति दिनकै लागि जेठ ६ गते ‘यात्रु रज्जुमार्ग सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरेको थियो । नगरपालिकाले यस्तो कार्यविधि नगरसभाबाट पारित गर्नुपर्ने भए पनि त्यस्तो गरेको देखिँदैन ।
केबलकार निर्माण र सञ्चालनको अनुमति दिनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन(इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण समेत नगरी ६ हजार ६ सय २१ रूख काट्ने तयारी समेत गरिएको छ । यतीसँगको लगावका कारण आलोचित भइरहेको सरकारले यती ग्रुपकै फाइदाका लागि मात्र कानुन संशोधन र निर्माण गरिरहेको छ ।