मध्यबिन्दु/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टको जग्गा यती होल्डिङ्स र गोकर्ण फरेस्ट रिसोर्टलाई दिएको विषयमा सरकारको बचाउ गरेका छन् । बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कुनै भ्रष्टाचार नगरेको भन्दै यती र गोकर्ण रिसोर्टलाई जग्गा लिजमा दिँदा कुनै गल्ती नगरेको दाबी गरे ।
तत्कालिन माओवादीसमेत सामेल रहेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रक्रिया पुर्याएर नै ताहचलको जग्गा यतीलाई लिजमा दिएको ओलीले उल्लेख गरे । ‘अहिलेको सरकारलाई आरोपित गरिएको छ,’ उनले भने, ‘सायद माओवादी पनि रहेको शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारकै पालामा प्रक्रिया पुर्याएर लिजमा दिने नीति बनाएरै दिएको हो ।’
यती होल्डिङ्स कम्पनीसँग नेकपाको मितेरी साइनो भए जसरी व्याख्या गरिएको भन्दै प्रधानमन्त्री ओलीले सरकार व्यापारिक घरानाको प्रतिस्पर्धामा पर्न नचाहेको पनि प्रष्ट पारे ।