काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
विभागले सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराबाट बच्न अनुरोध गरेको छ।