काठमाडौं – सरकारले संसद्को चालु (बजेट) अधिवेशनबाट नौवटा विधेयक पारित गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडैलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा नौवटा विधेयक चालु अधिवेशनबाटै पारित गर्ने उल्लेख गरेका हुन् ।
गत वैशाख १२ गतेबाट सुरु भएको अधिबेशनबाट शिक्षा, निजामतीलगायत पेचिला बनेका विधेयक पनि चालु अधिवेशनबाटै पारित गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
बजेट अधिवेशन नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरेतापनी शिक्षासम्बन्धी विधेयक, निजामती सेवालगायत विधेयक पारित गर्नैपर्ने दबाबमा सरकार छ । सरकारले शिक्षा विधेयकलाई १५ असारभित्रै पारित गर्ने नेपाल शिक्षक महासंघसँग सहमति नै गरेको छ ।
अर्कोतिर निजामती कर्मचारीले विधेयक पारितको माग गरेर आन्दोलनको घोषणा गरेका छन् । सरकारले अध्यादेशमार्फत अघि बढाउन नसकेको भूमि विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने जनाएको छ ।
नीति कार्यक्रममा नौवटै विधेयकको पछाडि उल्लेख छ, “…विधेयक संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ ।”
यी हुन् चालु अधिवेशनबाटै पारित गर्ने घोषणा गरिएको विधेयक
१) वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
२) भूमिसम्बन्धी विधेयक
३) नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
४) नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
५) विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
६) नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक
७) नेपाल प्रहरी विधेयक
८) सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक
९) संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक