यी हुन् एमाले संसदीय दलको बैठकले गरेका चार निर्णय

83

काठमाडौं – नेकपा एमालेले विद्यालय शिक्षा र संघीय निजामतीलगायतका विधेयक छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन पहलकदमी लिने निर्णय गरेको छ ।

एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा, संघीय निजामतीलगायत अन्य विचाराधीन विधेयकहरुलाई गुणस्तरीय कानून बनाउने गरी छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन संसदीय दल र सदस्यहरुले प्रभावकारी पहलकदमी लिने निर्णय गरेको छ ।

यी हुन् बैठकका ४ निर्णयहरु –

१) संसदीय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ सम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट दलका सम्पूर्ण सदस्यहरुलाई निर्देशन ।

२) मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्त्वका नीति, योजना र विषयहरुलाई संसदमार्फत सशक्त ढंगले उठान गर्ने ।

३) संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकहरुलाई गुणस्तरीय कानून बनाउने गरी छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन नेकपा एमाले संसदीय दल र सदस्यहरुले प्रभावकारी पहलकदमी लिने ।

४) संसदमा हुनसक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावलीविपरीत सत्यलाई असत्यले छोप्ने प्रवृत्ति र क्रियाकलापहरुको विपक्षमा सदैव उभिँदै संसदलाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोको रुपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने ।

समाचार वर्गहरू