युनेस्को मिसन टोलीद्वारा सीइओ ज्ञवालीसँग भेटवार्ता

15

काठमाडौं  – काठमाडौं उपत्यका विश्व सम्पदा सूचीभित्र पर्ने सात वटा सम्पदा क्षेत्रहरुको पछिल्लो अवस्था अध्ययन गर्न नेपाल आएको युनेस्कोको रियाक्टिभ मोनिटरिङ मिसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसाग भेटघाट गरेको छ । भेटघाटमा २०७२ वैशाखको भूकम्पबाट क्षति भएका काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुन: स्थापना र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भयो ।

त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण प्राधिकरणले सम्पदाहरुलाई विशेष प्राथमिकता दिई पुनर्निर्माणलाई अघि बढाएको जानकारी दिए । ती विश्व सम्पदा क्षेत्रमा पुनर्निर्माणका कार्य भइरहेको र दीर्घकालीन रुपमा अझ व्यवस्थित गर्नका लागि सबै पक्षलाई समेटेर विस्तृत गुरुयोजना निर्माण जारी रहेको उनले बताए ।

उनले काठमाडौं उपत्यकाका तीन र बाहिरका तीन परम्परागत सम्पदा बस्तीको विकास तथा रानीपोखरीको मौलिक पुनर्निर्माणलाई समेत अघि बढाइएको र विस्तृत गुरुयोजना पनि बन्दै गरेको जानकारी दिए ।

मिसनका लागि विश्व सम्पदा केन्द्रको प्रतिनिधित्व गरेका इन्टरनेशनल सेन्टर फर द स्टडी अफ दि प्रिजर्भेसन एण्ड रेस्टोरेसन अफ कल्चरल प्रोपर्टिज (इक्रोम) का अन्तर्राष्ट्रिय विज्ञ गामिनी विजिसुरियाले सम्पदाहरुको उचित संरक्षणको अवसर रहेको उल्लेख गर्दै तिनको पुनिर्निर्माण कार्यको अभिलेखीकरण गर्न सुझाव दिईन । त्यसैगरी, इन्टरनेशनल काउन्सिल अन मोनुमेन्टस् एण्ड साइट्स (इकोमस) की अन्तर्राष्ट्रिय विज्ञ क्याथरिन फोर्व्सले गुरुयोजना निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै आगामी फेव्रुअरीमा पुरातत्व विभागले पठाउने रिपोर्टको प्रगति समेट्न सल्लाह दिईन ।

छलफलमा युनेस्को काठमाडौं कार्यालयका नेपाल निर्देशक क्रिस्टियन म्यानहार्टले युनेस्कोले सम्पदा पुनर्निर्माण गर्दा गतिमा भन्दा गुणस्तरमा ध्यान दिने उल्लेख गर्दै पुरातत्व विभागलाई नीति निर्माण गर्न अझ सक्षम हुने गरी बलियो बनाउन सुझाव दिए ।

सम्पदा क्षेत्रहरुको संरक्षणको अवस्था, यसअघिको एड्भाइजरी मिसनले गरेका सिफारिसको कार्यान्वनको अवस्था र ६ वर्षीय पुनर्लाभ गुरुयोजनाको कार्यान्वयन रणनीतिको विकासबारे मूल्यांकन गर्ने कार्यादेशसहित असोज २९ गते मिसन नेपाल आएको हो ।

भूकम्पबाट काठमाडौं उपत्यका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रका १४० वटा सम्पदाहरुमा क्षति पुगेकोमा हालसम्म ९० वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेका छन् । अन्यको पुनर्निर्माण जारी छ ।

काठमाडौं उपत्यकाभित्र पशुपति, स्वयम्भूनाथ, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, चाागुनारायण र बौद्धनाथ क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

त्यसैगरी, प्राधिकरणले काठमाडौं उपत्यकाका सांखु, बुंगमती र खोकना तथा काठमाडौं बाहिरका गोरखा दरबार वरिपरि, नुवाकोट दरबार वरिपरि र दोलखा बजारलाई सम्पदा बस्तीका रुपमा विकास गरिरहेको छ ।

छलफलमा प्राधिकरणका सचिव शिवहरि शर्मा, पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतम लगायत सहभागी थिए ।

समाचार वर्गहरू