काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।
राजधानीमा सोमवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बाेधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारेका हुन् ।
राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जन लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी रहेको उनको भनाई थियो ।
युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उनले भने “यसका लागि हाम्रा स्रोत र सम्भावनाअनुरुपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो ।
राष्ट्रपति पौडेलले २०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको बताउँदै उम्दा जनशक्तिको प्रचुरताको यो ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसांख्यिक लाभ लिई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको स्पष्ट पारेका थिए ।