(काठमाडौं) – आगामी नोभेम्बरमा भारतमा आयोजना हुन गईरहेको यू १९ च्यालेन्जर्स सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
रित गौतमको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपालले सिरिजका लागि टिमको नाम नेपाल ’ए’ राखेको छ । यस्तै नेपालले सिरिजका लागि चार बैकल्पिक खेलाडी समेत छनोट गरेको छ । भारतको हैदरावादमा हुने यू १९ च्यालेन्जर्स सिरिज नोभेम्बर ११ देखि १७ सम्म हुनेछ । सिरिजमा भारतको तीन टिम रहने छ ।
जसलाई भारत ’ब्लु’, भारत ’रेड’ र भारत ’एल्लो’ नाम दिईएको छ । नेपालले पहिलो खेल नोभेम्बर ११ मा भारत ’एल्लो’ सँग खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले नोभेम्बर १३ मा भारत ’रेड’ र अन्तिम खेलमा नेपालले भारत ’ब्लु’ सँग नोभेम्बर १५ मा खेल्नेछ । लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । तेस्रो र चौंथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।