योग शिक्षाको पाठ्यक्रम तयार

17

रासस/काठमाडौं – जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय हुने गरी पाठ्यक्रम तयार गरेको छ ।

यसैगरी विभिन्न विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म योग विषय अध्ययन अध्यापनका लागि तयारी गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्को ‘टी–एसइई’ को ‘लेभल २’ मा तीनवर्षे योगार्थी कक्षा सञ्चालन हुन थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा लेखनाथ पौडेलले विगतमा कक्षा ९ मा योग विषयको पाठ्यक्रम रहेकामा अब एकीकृत पाठ्यक्रमका रुपमा कक्षा १२ सम्म योग, प्राकृतिक चिकित्सा र आयुर्वेदका अलग अलग तीन ऐच्छिक विषय पढ्न सकिने जानकारी र्दि । उनले पाठ्यक्रम तयार भइसकेकाले लागू गराउन चाहने विद्यालयले माग गरेका आधारमा पाठ्यपुस्तक उपलब्ध हुने जानकारी दिए ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सिफारिसमा जारी भएको राष्ट्रिय शिक्षा नीति, २०७६ ले नेपाललाई हिन्दू, बौद्धलगायत पौरस्त्य दर्शन, सभ्यता, संस्कृतिलगायतको केन्द्रविन्दु बनाई पूर्वीय दर्शन, पूर्वीय चिन्तन, मौलिक दर्शन एवं परम्परा, आयुर्वेद, योग, प्राकृतिक चिकित्सा आदि विषयको अध्ययन तथा अनुसन्धान केन्द्रको विकास गर्ने रणनीति लिएको छ । सरकारले विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि कानून निर्माणको प्रक्रिया पनि अघि बढाएको छ ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले शिक्षा नीतिमा स्पष्ट रणनीति उल्लेख भएकाले अब योगको अध्ययन अध्यापनलाई विश्वविद्यालय तहसम्म विस्तार गरिने बताए । उनले राष्ट्रिय योग अभ्यासक्रम निर्माण गर्ने तथा प्राविधिक धार र उच्चशिक्षामा समेत योग विषयको पठनपाठन गराउने तयारी गरिएको जनाए । स्नातकोत्तर योग एसोसिएशनका अध्यक्ष डा क्षितिज बाराकोटीले नेपाल संस्कृति विश्वविद्यालयले स्नातक तहको साढे पाँचवर्षे पाठ्यक्रममा योगलाई समावेश गर्ने तय भइसकेको बताए ।

समाचार वर्गहरू