काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार पाकेको आँपजस्तै रहेको बताएका छन्।
नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशन शनिबार उद्घाटन गर्दै नेता कोइरालाले भने, ‘यो सरकार पाकेको आँप जस्तो हो। कुन बेला झर्छ थाहा छैन।’
संघ र प्रदेशमा गरी विगत डेढ वर्षमा २३ पटक सरकार फेरिएको बताउँदै उनले स्थिर सरकार नभएकाले पनि जनअपेक्षाअनुसारको काम हुन नसकेको उल्लेख गरे।
नेता कोइरालाले सरकार गिराउने र ढाल्ने खेलमा कांग्रेस नभएको प्रस्ट पारे। उनले भने, ‘सरकार गिराउने र बिगार्ने खेलमा कांग्रेस लाग्दैन। सत्तारुढ दलभित्रै कलहका कारण यो सरकारको भविष्य पनि त्यति लामो छैन।’
नेता कोइरालाले २०८४ सालमा हुने आमचुनाव कांग्रेस एक्लै लड्ने बताए। विगतमा गठबन्धन गरेर चुनावमा जाँदा सरकार सञ्चालनको क्रममा कांग्रेसले धोका पाइसकेकाले अब कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा जोड दिए। कोइरालाले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, मुस्लिम संघका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतारले राजनीतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेले ध्यान दिनुपर्नेमा जोड दिए।
विराटनगर महानगरपालिका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसको इतिहासमा महत्त्वपूर्ण योगदान दिने मुस्लिम समुदायको समस्या समाधान गर्न ध्यान दिनु जरुरी रहेको विचार राखेका थिए।