काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गनुपर्ने धारणाप्रति माफी मागेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा घिमिरेले आफुले राखेको धारणाले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमायाचना गरेका छन्।
देशमा पर्यटन प्रवर्धनका लागि गर्न सकिने केही विषयहरुको जानकारी गराउँदै उनले गत चैत ३ गतेको संसद् बैठकमा भनेका थिए, ‘धार्मिक क्षेत्रमा पूर्ण रुपले मदिरा, मासुजन्य पदार्थहरु प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यवसायिक रुपमा यसको विकास पनि गर्नुपर्छ । त्यसको लागि निश्चित् ठाउँहरु तोकेर जानुपर्छ । मदिराको लागि छुट्टै, मनरोञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ । मैले त बारम्बार भन्ने गरेको छु यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं । जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ ।’
घिमरेको उक्त अभिव्यक्तिमाथि सर्वत्र आलोचना भएपछि अन्ततः उनले माफी मागेका हुन् । उनले सो धारण नेपाली कांग्रे र कांग्रेस संसदीय दलको धारणा नभएर नितान्त निजी विचार रहेको पनि बताए । ‘यही चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवं जनसमुदायमा समेत केही नकरात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमा याचना गर्न चाहन्छु,’– उनले भने ।