काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिनसम्म चलेको बयानमा लामिछानेले ७४ प्रश्नको जवाफ दिएको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार सुरु भएको बयान आज सकिएको हो । बयानमा रविले निरन्तरूपमा सहकारीमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन गएको बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखि उनको बयान लिन थालिएको थियो ।
लामिछानेलाई यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा बयान लिन पोखराबाट त्यहाँ समेत लगिएको थियो । गएको कात्तिक २ गते उनलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।