रसुवागढी र तातोपानी नाका खोल्ने सहमती

5
फोटो- परराष्ट्र मन्त्रालय

काठमाडौं – कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छ ।

बुधबार ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो साता तातोपानी–झाङ्मु नाका खोल्ने सहमती भएको हो ।

सहमतिअनुसार शनिबार (१८ चैत)देखि रसुवागढी–केरुङ र आगामी १८ वैशाखदेखि तातोपानी–झाङ्मु नाकाबाट सामान तथा नागरिकको आवतजावत सुरु गर्ने सहमति भएको छ ।

बुधबारको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका तर्फबाट तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

‘दुवै पक्षबीच १८ चैतदेखि रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावतका लागि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । यसैगरी, तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र जनताको आवागमन १८ वैशाखदेखि सुरु हुनेछ,’ संयन्त्रको बैठकपछि बुधबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू