राँके–रवि–भेडेटार सडक समयमै सम्पन्न गर्न मन्त्री नेम्वाङ्को निर्देशन

40

(पाँचथर) –  भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ्ले पाँचथरको राँके–रवि– भेडेटार सडकखण्डको अनुगनम गरेका छन् । शुक्रबार मेची राजमार्गको राँकेदेखि भेडेटारसम्म १ सय १ किलोमिटर स्थलगत अनुगमन गरेका थिए ।

प्रदेश १ कै एक महत्वपूर्ण मार्गको रुपमा रहेको यस सडकखण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएको वर्ष दिन बित्दा पनि निर्माण कार्यले गति नलिएपछि मन्त्री नेम्वाङ् अनुगमनका लागि पुगेका थिए ।

गत वर्ष पुष २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो सडकखण्ड कालोपत्रेका लागि शिलान्यास गरेका थिए । सो सडकखण्ड ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मन्त्री नेम्वाङले स्थानीय प्रतिनिधि, सरोरकारवाला ठेकेदारसँग अन्तरक्रिया गर्दै समयमै काम सकाउने वातावरण निर्माण गर्न पाँचथर, इलाम र धनकुटाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

आयोजना प्रमूख र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग निर्माण स्थलमै छलफल गरेका थिए । अनुगमनमा धनकुटाका संघीय सांसद राजेन्द्र राई, मोरङका संघीय सांसद घनश्याम खतिवडा, भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, स्थानीय तहका पदाधिकारी, आयोजना प्रमुख लगायत सहभागी थिए ।

भारतको (एक्जिम) बैंकको ऋण सहयोगमा ३ अर्ब ६५ करोड ८४ लाखमा ठेक्का लागेको हो । ८७ प्रतिशत भारतीय सरकारको ऋण सहयोग रहने यस परियोजनामा १३ प्रतिशत नेपाल आफैले लगानी गर्दैछ ।

१ सय १ किलोमिटर लामो यो सडकको निर्माण जिम्मा भारतीय कम्पनी एप्को इन्फ्राटे प्रा.लिले लिएको छ । महाभारतको डाँडैडाँडा निर्माण हुने यति लामो सडकमा केहि कल्भर्ट बाहेक पुल बनाउनु पर्ने अवस्था छैन ।

अनुगमनका क्रममा मन्त्री नेम्वाङले यो सडकखण्डले भेट्ने बजारहरु दशमी, सप्तमी, रवि, घुर्पिसे पञ्चमी, ६ नं. बुधबारे, चौबिसे र भेडेटारवासीहरुसँग समेत छलफल गरेका थिए । निर्माणमा कुनै ठूलो बाधा नभएकाले तोकिएकै समयभित्र निर्माण गरिसक्न ठेकेदार कम्पनीलाई उनले निर्देशन दिए ।

केही विद्युतका पोल र रुख कटान गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित पक्षहरुसँग समन्वय गरेर काम द्रुत गतिमा अगाडि बढाउन समेत उनले निर्देशन दिए । दुई लेनमा विस्तार हुने सो सडकको २०४६ सालमा नै ट्रयाक खुलेपनि लामो सयमसम्म स्तरोन्नती हुन सकेको थिएन ।

समाचार वर्गहरू