राइसकुकर मर्मतकर्तालाई ‘हनीट्रयाप’,को प्रयोग गर्ने युवती पक्राउ

95

काठमाडौं – अस्ट्रेलिया जान आवश्यक खर्च जुटाउने उद्देश्यले ‘हनीट्रयाप’ को प्रयोग गरेको अभियोगमा चितवन, रत्ननगर–८ की अस्मिता आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

हाल काठमाडौँको कुलेश्वर बस्दै आएकी २८ वर्षीया आचार्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीलाई जानकारी भएपछि, अस्मितालाई तीन लाखको चेक लिइरहेको अवस्थामा पक्राउ गरिएको एसपी आचार्यले बताए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार उनले ५० वर्षीय एक पुरुषलाई ‘हनीट्रयाप’ मा पारेर आर्थिक लाभ उठाउने प्रयास गरेकी थिइन्। यही आरोपमा माघ २२ गते उनलाई पक्राउ गरिएको हो।

घटना करिब चार महिनाअघि सुरु भएको थियो। अस्मिता कुलेश्वरस्थित एक इलेक्ट्रोनिक्स मर्मत केन्द्रमा पुगेर आफ्नो राइसकुकर मर्मत गराउन भनी सम्बन्ध स्थापित गर्छिन्। यसक्रममा उनले पसल सञ्चालकको सम्पर्क नम्बर लिई कुराकानी गर्न थालिन्। केही समयपछि उनले हटपट मर्मत गराउन पुनः सोही पसल गइन्।

क्रमशः सम्बन्ध विस्तार गर्दै उनले मर्मतकर्तासँग सापटी माग्न थालिन्। सुरुवाती दिनमा चार–पाँच हजार रुपैयाँ सापटी लिएर उनले रकमको माग बढाउँदै गइन्। अन्ततः उनले दुई लाख रुपैयाँ मागिन्। तर, पसल सञ्चालकले सो रकम दिन अस्वीकार गरेपछि उनले ‘हनिट्र्याप’ योजना अघि बढाइन्।

अस्मिताले पीडितलाई ठमेलमा भेट्न आग्रह गरिन्, जहाँ उनीहरूले सँगै खाजा खाए। केही समयपछि उनले सिनामंगलस्थित एक होटलमा सँगै बस्न प्रस्ताव गरिन्।

होटलमा पुगेपछि उनले धम्की दिन थालिन् – “यदि रकम नदिए बलात्कारको मुद्दा लगाइदिन्छु।” यतिमात्र नभई उनले पीडितसँग १० लाख रुपैयाँ माग गरिन्।

चार दिनसम्म रकम उपलब्ध नगरिएपछि अस्मिताले पीडितको छोरालाई फेसबुक म्यासेन्जरमार्फत सन्देश पठाइन् – “तिम्रो बुवाले मलाई बलात्कार गरेका छन्, म प्रहरीकहाँ उजुरी लिएर जान्छु।”

यो सन्देशपछि पीडित परिवारमा हल्लाखल्ला मच्चियो। दबाबमा आएका राइसकुकर मर्मतकर्ताले अस्मितालाई १० लाख दिन सहमति जनाए। प्रारम्भिक रूपमा उनले ३ लाख रुपैयाँको चेक दिएर बाँकी रकम एक हप्ताभित्र दिने वाचा गरे।

प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिताले आफू अस्ट्रेलिया जान आर्थिक अभाव भएको कारण यस्तो योजना बनाएको बयान दिएकी छन्। अनुसन्धान अधिकृतहरूसँग उनले भनेकी छन्, “मेरो श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ। म पनि जाने तयारीमा थिएँ, तर पैसाको अभाव थियो। त्यसैले यस्तो कदम चालेँ।”

अस्मिता बिबिए (BBA) सम्म अध्ययन गरिसकेको प्रहरीले जनाएको छ। हाल उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

समाचार वर्गहरू