काठमाडौं – बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रिकालीन उडान सुरु गरेको छ ।
सोमबार साँझ सञ्चार कर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौंदेखि राजविराजको दुईतर्फी रात्रि उडान शुभारम्भ भएको हो ।
सोमबार क्याप्टेन मनोज केसीले राजविराजमा जहाज अवतरण गरेका हुन् । बुद्ध एयरले रात्रिकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रिकालीन उडान गर्ने विमानस्थलको सङ्ख्या १० वटा पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्था र रात्रिकालीन समयमा पनि अवतरण गर्ने प्रणालीको विकास गरेसँगै बुद्ध एयरले रात्रिकालीन उडान सुरु गरेको हो ।
बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसँगै रात्रिकालीन उडानको शुभारम्भ गरेको हो । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ ।